बारा, ३ पुष । केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा काठमाडौँबाट फरार भएका लागूऔषध मुद्दाका दुई जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बारा जिल्ला करैयामाई गाउँपालिका–७ पिपरा निवासी २९ वर्षीय विवेक चौधरी र २३ वर्षीय कृष्णा चौधरीलाई जिल्ला प्रहरी कार्यालय बारा मातहत प्रहरी चौकी बारागढीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनीहरू गत भदौ २४ गते केन्द्रीय कारागार तोडी फरार भएका थिए । विशेष सूचनाका आधारमा खोजतलास तीव्र पार्ने क्रममा बिहीबार उनीहरूलाई आफ्नै गाउँ पिपरास्थित घर नजिकैबाट पक्राउ गरिएको जनाइएको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका बेला फरार भएका दुवै जनालाई नियन्त्रणमा लिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार कार्यालय वीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले फरार प्रतिवादीहरूको खोजी र पक्राउ अभियानलाई निरन्तरता दिने तथा लागूऔषधसम्बन्धी अपराध नियन्त्रणमा कडाइका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।