जनकपुरधाम, ३ पुष । जिल्ला प्रहरी कार्यालय धनुषाले चालु आर्थिक वर्ष ०८२/०८३ को मंसिर महिनामा अपराध नियन्त्रण, शान्ति सुरक्षा र सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको मंसिर महिनाको प्रगति विवरणअनुसार विभिन्न प्रकृतिका १३३ वटा अपराध मुद्दा दर्ता भएका छन् भने ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ ।

प्रहरीका अनुसार मंसिर महिनामा जघन्य अपराधतर्फ ४ वटा मुद्दा दर्ता हुँदा २ जना पक्राउ परेका छन् भने ३ जना फरार रहेका छन् । यस्तै, गम्भीर प्रकृतिका २२ वटा मुद्दा दर्ता हुँदा १३ जना पक्राउ परेका छन् भने १५ जना फरार रहेको विवरणमा उल्लेख छ । चालु मुद्दाका प्रतिवादीतर्फ ९६ जना पक्राउ परेका छन् भने ११५ जना अझै फरार रहेका छन् ।

अदालतबाट भएका फैसलाको कार्यान्वयनतर्फ पनि प्रहरीले सक्रियता देखाएको छ । मंसिर महिनामा ५० जनालाई पक्राउ गरी ९१० वर्ष ८४ महिना २२३ दिन बराबरको कैद कार्यान्वयन गरिएको छ । साथै, बिगो र क्षतिपूर्तिबापत ६ लाख ६४ हजार ८ सय रुपैयाँ असुलउपर गरिएको प्रहरीले जनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीहरू पनि उल्लेख्य संख्यामा दर्ता भएका छन् । ज्येष्ठ नागरिकसम्बन्धी ४ वटा उजुरी परेका छन् । हराएका व्यक्तितर्फ २२ महिला र २३ बालबालिका हराएको विवरण दर्ता भएकोमा २ महिला, १ बालक र ५ बालिका फेला परेका छन् ।

घरेलु हिंसातर्फ ५८ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये २४ वटा उजुरी मिलापत्र गराई समाधान गरिएको वा अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रत्यक्ष रूपमा जिल्ला प्रहरी कार्यालयमा परेका ठाडो उजुरी १०४ वटा रहेकामा ४८ वटा फछ्र्यौट भएका छन् भने ५६ वटा बाँकी छन् । जिल्ला प्रशासन कार्यालयमार्फत आएका १०० उजुरीमध्ये ५२ वटा फछ्र्यौट भएका छन् ।

त्यस्तै, लागूऔषध नियन्त्रणतर्फ ५ वटा मुद्दा दर्ता गरी ७ जनालाई पक्राउ गरिएको छ । प्रहरीले ८३३ किलो १७० ग्राम गाँजा र १३.९७ ग्राम खैरो हिरोइन बरामद गरेको छ ।

अनुचित लेनदेन नियन्त्रणतर्फ १० वटा निवेदनका आधारमा मिलापत्र गराई २३ लाख ७५ हजार रुपैयाँ बराबरको रकम तथा घरजग्गा फिर्ता गराइएको विवरण सार्वजनिक गरिएको छ ।

मंसिर महिनामा धनुषा जिल्लामा १११ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १९६ जना घाइते भएका छन् ।

दुर्घटनाको मुख्य कारण तीव्र गति, चालकको लापरबाही र सवारी साधनको आन्तरिक समस्या रहेको प्रहरीको विश्लेषण छ । चेकजाँचका क्रममा ७४६ सवारी साधनमाथि कारबाही गरी राजस्व संकलन गरिएको छ ।

शान्ति सुरक्षातर्फ नियमित गस्ती, चेकिङ र प्रहरी परिचालनमार्फत जिल्लाको सुरक्षा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मंसिरमा कुनै पनि ठूलो शान्ति सुरक्षासम्बन्धी घटना, मानवीय वा भौतिक क्षति नभएको विवरणमा उल्लेख छ ।

विपद् व्यवस्थापनतर्फ ७ वटा आगलागीका घटना भएका छन् भने करेन्ट लागेर १ महिलाको मृत्यु भएको छ । उद्धार तथा व्यवस्थापनका लागि ४६ जना प्रहरी परिचालित भएका थिए ।

समुदाय–विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रमअन्तर्गत ११६ वटा कार्यक्रम सञ्चालन गरिएका छन् । त्यसमा ३ हजार ५ सय ५४ जनाको सहभागिता रहेको प्रहरीले जनाएको छ ।

नागरिकता सिफारिसलगायत विभिन्न कागजातका लागि ५०४ वटा मुचुल्का तयार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी निरीक्षक मनोजकुमार यादवले अपराध नियन्त्रण, सेवा प्रवाह र नागरिकसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।