सर्लाही, ३ पुष । नेपाली कांग्रेसले सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि गरेको उम्मेदवार सिफारिस पार्टीको केन्द्रीय मापदण्डविपरीत भएको आरोप लागेको छ ।

कांग्रेसका महासमिति सदस्य इन्जिनियर डा. राजेश्वर सिंह कुशवाहाले क्षेत्रीय कार्यसमितिले गरेको निर्णयप्रति आपत्ति जनाउँदै सिफारिस प्रक्रिया अलोकतान्त्रिक र स्वेच्छाचारी भएको बताएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–४ क्षेत्रीय कार्यसमितिको मंसिर २३ गते बसेको बैठकले मधेश प्रदेशसभा सदस्य विरेन्द्र प्रसाद सिंहको नाम एकल रूपमा सिफारिस गरेको थियो । तर, सो निर्णय पार्टी केन्द्रीय समितिले तोकेको मापदण्डसँग मेल नखाने कुशवाहाको दाबी छ ।

उनका अनुसार नेपाली कांग्रेस केन्द्रीय समितिले मंसिर १५ र १७ गते जारी गरेको १० बुँदे मापदण्डमा हाल बहाल प्रदेशसभा सदस्यलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ ।

साथै प्रत्यक्षतर्फ कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधानसमेत मापदण्डमा उल्लेख छ । तर, ती सबै व्यवस्था बेवास्ता गर्दै एकल रूपमा हाल बहाल प्रदेशसभा सदस्यको नाम सिफारिस गरिएको उनको आरोप छ ।

डा. कुशवाहाले आफूले समयमै उम्मेदवारी निवेदन दर्ता गराउन खोज्दा समेत दर्ता नगरिएको बताए । दावेदारी नै प्रस्तुत नगरेका व्यक्तिको नाम सिफारिस गर्नु पार्टीभित्रको आन्तरिक लोकतन्त्रको उपहास भएको उनको भनाइ छ । यस्तो प्रवृत्तिले कांग्रेसभित्र स्वेच्छाचारिता र बाहुबली संस्कृतिलाई प्रोत्साहन गर्ने भन्दै उनले आपत्ति जनाएका छन् ।

यस विषयमा आफूले मंसिर २४ गते नै पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय पदाधिकारीलाई लिखित रूपमा जानकारी गराइसकेको कुशवाहाले बताए । साथै मंसिर २५ गते केन्द्रीय कार्यालयबाट पुनः मापदण्ड पालना गर्न जारी गरिएको परिपत्रलाई आधार मानेर सर्लाही–४ क्षेत्रीय कार्यसमितिको सिफारिस निर्णय तत्काल खारेज गर्न उनले माग गरेका छन् ।

केन्द्रीय निर्देशनअनुसार निष्पक्ष र पारदर्शी ढंगले पुनः उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाउन तथा आफ्नो उम्मेदवारीसमेत समावेश गर्न क्षेत्रीय कार्यसमितिसँग उनले आग्रह गरेका छन् ।

सर्लाही–४ मा कांग्रेसको उम्मेदवार चयन प्रक्रिया विवादमा तानिएपछि पार्टीभित्र आन्तरिक असन्तुष्टि बढ्दै गएको देखिएको छ ।