जनकपुरधाम, ३ पुष । नेपाल जेसिजको ५२औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन जनकपुरधाममा हुन लागेको छ ।

पुष ४ गतेदेखि पुष ७ गतेसम्म जनकपुरधाम जेसिजको आयोजनामा तिरहुतिया गाछीमा सञ्चालन हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।

आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत सम्मेलन स्थलमा आवश्यक भौतिक संरचना निर्माण, पण्डाल व्यवस्थापन, सहभागी तथा अतिथिहरूका लागि आवास, भोजन र सुरक्षासम्बन्धी सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

देशभरबाट आउने हजारौँ प्रतिनिधिहरूलाई सहज र व्यवस्थित रूपमा सेवा उपलब्ध गराउने गरी तयारी गरिएको जनाइएको छ ।

नेपाल जेसिजकी राष्ट्रिय अध्यक्ष रजनी थापाका अनुसार चार दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन भव्य उद्घाटन समारोह आयोजना गरिनेछ । त्यसपछि बाँकी तीन दिन विभिन्न रचनात्मक तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन हुनेछन् । ती कार्यक्रमहरूमा ओराटोरी कन्टेस्ट, थिम सेमिनार तथा राष्ट्रिय एसेम्बली प्रमुख रूपमा रहनेछन् ।

महाधिवेशनका क्रममा उद्यमशीलता र नेतृत्व विकासलाई प्राथमिकतामा राखिएको अध्यक्ष थापाले बताइन् । उनका अनुसार व्यवसाय सुरु गर्न चाहने युवाहरूका लागि विशेष तालिम कार्यक्रम सञ्चालन गरिनेछ । यसका साथै आगलागीबाट हुन सक्ने क्षति न्यूनीकरणसम्बन्धी सचेतनामूलक तथा प्राविधिक तालिमसमेत समावेश गरिएको छ ।

सम्मेलनको प्रमुख अतिथिका रूपमा अन्तर्राष्ट्रिय जेसिजका उपाध्यक्ष, जापानका सुजुकीलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय नेतृत्वको सहभागिताले सम्मेलनलाई अझ प्रभावकारी र प्रेरणादायी बनाउने विश्वास आयोजकको छ ।

चार दिनसम्म चल्ने यस राष्ट्रिय सम्मेलनमा देशभरका १ सय ७४ जेसिज शाखाबाट करिब ५ हजार प्रतिनिधिहरूको सहभागिता रहने छ । ठूलो संख्यामा युवा नेतृत्व जनकपुरधाममा भेला हुने भएकाले स्थानीय पर्यटन, होटल व्यवसाय, यातायात तथा व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय व्यवसायीहरूको विश्वास छ ।

नेपाल जेसिजले प्रत्येक वर्ष आयोजना गर्ने राष्ट्रिय सम्मेलन युवाहरूको नेतृत्व क्षमता विकास, नीति निर्माण र संगठन सुदृढीकरणका दृष्टिले महत्वपूर्ण मानिन्छ ।

यस वर्ष जनकपुरधाममा आयोजना हुन लागेको ५२औँ महाधिवेशनले युवाहरूलाई नयाँ ऊर्जा, सीप र दृष्टिकोण प्रदान गर्ने विश्वास गरिएको छ ।