मधेशका १८ सरकारी कार्यालयका ७२ कर्मचारी कारबाहीमा

जनकपुरधाम, २ पुष । पदीय मर्यादा र सरकारी आचारसंहिताअनुरूप काम नगरेको पाइएपछि मधेश प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयमा कार्यरत ७२ जना कर्मचारी कारबाहीमा परेका छन् ।
बढ्दो जनगुनासोलाई मध्यनजर गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारका कार्यालयहरूमा दुई दिनसम्म गरेको छड्के अनुगमनका क्रममा उनीहरू कारबाहीमा परेका हुन् ।
अनुगमनका क्रममा बिदा स्वीकृति नलिई घर बसेका ३४ जना कर्मचारी तथा तोकिएको पोशाक नलगाई कार्यस्थलमा उपस्थित भएका ३८ जना कर्मचारी फेला परेका थिए । यसरी कुल ७२ जनालाई स्पष्टिकरण सोध्नुका साथै नसिहत दिने निर्णय अनुगमन टोलीले गरेको हो ।
कारबाहीमा पर्नेहरू विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
विवरणअनुसार खेलकुद तथा समाज कल्याण मन्त्रालयका ९ जना, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका ४ जना, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३ जना, शिक्षा तथा संस्कृति मन्त्रालयका ५ जना, गृह, सञ्चार तथा कानुन मन्त्रालयका १ जना, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका ८ जना, वन तथा वातावरण मन्त्रालयका ६ जना, भौतिक पूर्वाधार विकास मन्त्रालयका ५ जना र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका ३ जना कर्मचारी कारबाहीमा परेका छन् । यसबाहेक अन्य मातहतका कार्यालयका कर्मचारीहरू पनि समेटिएका छन् ।
मधेश प्रदेशका निमित्त मुख्य सचिव रामकुमार महतोका अनुसार कारबाहीमा परेका ७२ जनामध्ये ५५ जना पुरुष र १७ जना महिला कर्मचारी रहेका छन् । तहगत रूपमा हेर्दा उपसचिव स्तरका २ जना, शाखा अधिकृत ४१ जना, नायब सुब्बा १६ जना, खरिदार ४ जना, सवारी चालक ३ जना तथा कार्यालय सहयोगी ६ जना रहेका छन् ।
निमित्त मुख्य सचिव महतोले प्रदेश सरकार मातहत रहेका मधेशका आठै जिल्लाका विभिन्न कार्यालयहरूमा यस्ता छड्के अनुगमनलाई निरन्तरता दिइने बताए । उनका अनुसार सरकारी सेवा प्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन कडाइका साथ अनुगमन आवश्यक भएको छ ।
अनुगमन सुरु हुनुभन्दा तीन दिनअघि मात्र मुख्य सचिव महतोले कर्मचारीहरूको नाममा २३ बुँदे निर्देशन जारी गरेमा थिए । निर्देशनमा कार्यालय समयको पालना, पोशाकको अनिवार्य प्रयोग, सेवाग्राहीमैत्री व्यवहार र जिम्मेवारीप्रति जवाफदेहितालाई जोड दिइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

