सप्तरी, २ पुष । सप्तरीमा बैंकका कर्मचारीमाथि अमानवीय र अपमानजनक व्यवहार गर्दै कुटपिट तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

कर्जा नतिरेको विषयलाई लिएर कर्जा असुलीका लागि खटिएका बैंक कर्मचारीमाथि दुर्व्यवहार भएको घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ज्योति विकास बैंक लिमिटेडको क्लस्टर कार्यालय बर्दिवासबाट कर्जा असुली कार्यका लागि खटिएका कर्मचारी सुनित श्रेष्ठ र सविन कुमार श्रेष्ठमाथि आक्रमण गरिएको थियो ।

बैंकबाट लिएको कर्जा समयमै भुक्तानी नगरेपछि बैंकले कानुनी प्रक्रिया अनुसार कर्जा असुली प्रक्रिया अघि बढाएको थियो । सोही क्रममा उनीहरू सप्तरी पुगेका थिए ।

प्रहरीका अनुसार गत मङ्सिर २४ गते दिउँसो करिब ३ बजेको समयमा कञ्चनपुर–फत्तेपुर सडक खण्ड अन्तर्गत बलारदह चौकमा रहेका बेला बैंक कर्मचारी सुनित र सविनलाई एक्कासी घेराहाली नियन्त्रणमा लिइएको थियो । त्यसपछि उनीहरूलाई सप्तकोशी नगरपालिका–७ स्थित सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.को परिसरमा लगिएको थियो ।

त्यहाँ उनीहरूलाई कालोमोसो दलेर जुत्ताको माला लगाइ फोटो तथा भिडियो खिचिएको, कुटपिट गरिएको र अपमानजनक व्यवहार गरिएको प्रहरीले जनाएको छ । साथै, घटनाका क्रममा सुनित श्रेष्ठले लगाएको करिब दस आना तौलको सुनको औँठी र सुनको सिक्रीसमेत लुटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।

घटनाबारे मङ्सिर २९ गते पीडित पक्षबाट जाहेरी दरखास्त प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानकै क्रममा घटनामा संलग्न रहेको आरोपमा सप्तकोशी नगरपालिका वडा नम्बर–७ का ५२ वर्षीय संजिव कुमार चौधरी र अग्नीसाईर कृष्णसवरण गाउँपालिका वडा नम्बर–१ का ४७ वर्षीय उमाकान्त चौधरीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका दुवै जनामाथि अपमानजनक व्यवहार गर्न नहुने, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय कञ्चनपुरमार्फत घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले बताए ।