जनकपुरधाम, २ पुष । जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका ई–रिक्सालाई व्यवस्थित बनाउन कडा नियमन गर्ने तयारी गरेको छ ।

अव्यवस्थित ई–रिक्सा सञ्चालनका कारण ट्राफिक अस्तव्यस्त हुनुका साथै सवारी दुर्घटनाको जोखिम बढेको र पैदलयात्रीसमेत प्रभावित भएको निष्कर्षसहित उपमहानगरपालिकाले ई–रिक्सा चालक तथा नगरवासीलाई सहकार्य गर्न आग्रह गरेको हो ।

उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा ई–रिक्सा चालकबाट हुने दुव्र्यवहार, तोकिएकोभन्दा बढी भाडा असुली, जथाभावी पार्किङ तथा यात्रु चढाउने–ओराल्ने क्रममा ट्राफिक नियम उल्लङ्घन हुने गरेको उल्लेख गरिएको छ ।

यस्ता गतिविधिका कारण सर्वसाधारण, पैदलयात्री, आन्तरिक तथा बाह्य पर्यटक, सुरक्षाकर्मी र नगरवासीले पटकपटक गुनासो तथा ध्यानाकर्षण गराउँदै आएको उपमहानगरपालिकाले जनाएको छ ।

विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार टेम्पो, अटो–रिक्सा तथा ई–रिक्सा जस्ता सवारी साधनको कर निर्धारण, दर्ता, अनुमति तथा नियमन गर्ने अधिकार स्थानीय तहलाई रहेको स्पष्ट पारिएको छ ।

सोही कानुनी प्रावधानका आधारमा जनकपुरधाम उपमहानगरपालिकाले ई–रिक्सा दर्ता प्रक्रिया सुरु गरिसकेको र आगामी दिनमा सञ्चालन अनुमति तथा नियमनलाई थप प्रभावकारी बनाइने जानकारी दिइएको छ ।

ई–रिक्सा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन यसअघि विभिन्न सरोकारवाला निकायसँग पटकपटक छलफल तथा बैठक भएको उल्लेख गर्दै उपमहानगरपालिकाले नगर क्षेत्रभित्र ई–रिक्साको चाप घटाउने र निश्चित मापदण्डअनुसार सञ्चालन गर्ने निर्णय भएको जनाएको छ । यसले ट्राफिक व्यवस्थापन सहज हुने, दुर्घटनाको जोखिम घट्ने र नगरको समग्र सौन्दर्यमा सुधार आउने विश्वासमा छ ।

उपमहानगरपालिकाले नगर क्षेत्रभित्र ई–रिक्सा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको नभई नियमन र व्यवस्थापन गर्न खोजिएको स्पष्ट पारेको छ । नगरलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउन ई–रिक्सा चालक, यातायात व्यवसायी, नगरवासी तथा सम्बन्धित सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उपमहानगरपालिकाको भनाइ छ ।

जनकपुरधामको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्त्वलाई मध्यनजर गर्दै व्यवस्थित यातायात प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उपमहानगरपालिकाले नियम पालना नगर्ने सवारीसाधनमाथि कडा कारबाही गर्नेसमेत चेतावनी दिएको छ ।