लोकतान्त्रिक विद्यार्थी संघको ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन

जनकपुरधाम, २ पुष । लोकतान्त्रिक विद्यार्थी संघ धनुषाको ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ ।
लोकतान्त्रिक विद्यार्थी संघका प्रदेश अध्यक्ष त्रिदेव कुमार मिश्रको अध्यक्षतामा बुधबार सम्पन्न कार्यक्रममा रितिक राज झाको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय महासचिव परमेश्वर साहले विद्यार्थी राजनीति लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै संगठनलाई अनुशासित, वैचारिक र जनमुखी बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनले विद्यार्थी आन्दोलनबाटै सक्षम, इमान्दार र जिम्मेवार नेतृत्व उत्पादन हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रोशन मिश्रले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै शिक्षा, रोजगार र विद्यार्थी अधिकारका सवालमा सशक्त रूपमा आवाज उठाउन आग्रह गरे । उनले संगठनलाई जिल्लास्तरमा विस्तार गर्दै विद्यालय, क्याम्पस र समुदायसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्रदेशका मुख्य सचिव रामविनोद चौधरी, जिल्ला अध्यक्ष जिवेन्द्र झा, उपाध्यक्ष शम्भु झा, क्षेत्रीय अध्यक्ष प्रदीप चौधरी, नगर अध्यक्ष वैदेही रमण, नगर सचिव प्रशान्त झा, राजविराज सभापति प्रवेश यादवलगायतका नेताहरूले मन्तव्य राख्दै विद्यार्थी संगठनको भूमिकाबारे धारणा व्यक्त गरे ।
वक्ताहरूले संगठनले आगामी दिनमा शैक्षिक सुधार, विद्यार्थी हकहितको संरक्षण, सामाजिक जागरण र लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा विद्यार्थी नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
आयोजक समितिले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबै अतिथि, सहभागी, विद्यार्थी नेता तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ ।
नवगठित जिल्ला कार्यसमितिले संगठन विस्तार र विद्यार्थी हितका कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

