जनकपुरधाम, २ पुष । मधेश प्रदेश सभाको सभामुख पदका लागि आइतबार निर्वाचन हुने भएको छ ।

बुधबार बसेको प्रदेश सभा बैठकमा उपसभामुख बबिता राउत ईशरले सभामुख निर्वाचनको मिति तय भएको जानकारी गराउँदै पुष ६ गते आइतबार सभामुख चयनका लागि मतदान हुने बताइन् ।

प्रदेश सभामा सभामुख पद लामो समयदेखि रिक्त रहँदै आएको सन्दर्भमा प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ७ बमोजिम निर्वाचन प्रक्रिया अघि बढाइएको उपसभामुख ईशरले सदनलाई जानकारी गराइन् ।

उनले सभामुखको जिम्मेवारी उपसभामुखको हैसियतमा निर्वाह गर्दै आएको उल्लेख गर्दै अब नियमित प्रक्रियाअनुसार सभामुख चयन गर्न लागिएको बताइन् ।

निर्वाचन प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउन उपसभामुख ईशरले प्रदेश सभाका सचिव वासुप्रसाद कोईरालालाई पुष ५ गते सभामुख निर्वाचनसम्बन्धी औपचारिक सूचना प्रकाशन गर्न निर्देशन दिएकी छन् । उक्त सूचनापछि उम्मेदवारी दर्ता, प्रस्ताव–समर्थन र मतदानका सम्पूर्ण प्रक्रिया तय तालिकाअनुसार अघि बढ्नेछन् ।

बुधबारकै बैठकमा उपसभामुख ईशरले राष्ट्रपति कार्यालय, प्रदेश प्रमुखको कार्यालय तथा सर्वोच्च अदालतबाट प्राप्त विभिन्न पत्रहरू सदनमा पढेर सुनाउँदै सभासद्हरूलाई जानकारी गराएकी थिइन् । ती पत्रहरू समसामयिक संवैधानिक तथा प्रशासनिक विषयसँग सम्बन्धित रहेको जनाइएको छ ।

सभामुख निर्वाचनको घोषणा भएसँगै विभिन्न राजनीतिक दलहरूबीच उम्मेदवार चयन र समर्थनका विषयमा आन्तरिक छलफल तीव्र हुने देखिएको छ ।

सभामुख पदलाई तटस्थ र सम्मानित पदका रूपमा हेरिने भएकाले सहमतिको प्रयास हुने वा प्रतिस्पर्धात्मक निर्वाचन हुने भन्ने विषय चासोको रूपमा रहेको छ ।

आइतबार हुने सभामुख निर्वाचनले मधेश प्रदेश सभाको कार्य सञ्चालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।