मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रदेश सभामा पठाए पत्र

जनकपुरधाम, २ पुष । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने औपचारिक प्रक्रिया अघि बढाएका छन् ।
मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै मधेश प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका हुन् ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार नेपालको संविधानको धारा १६८ अन्तर्गतको व्यवस्था बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि बुधबार प्रदेशसभामा पत्र पठाइएको हो ।
संविधानले मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ ।
यसअघि मंसिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका यादव ६ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए ।
नियुक्तिपछि संविधानिक प्रावधानअनुसार तोकिएको समयसीमाभित्र विश्वासको मत लिनुपर्ने भएकाले मुख्यमन्त्री यादवले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।
प्रदेशसभा सचिवालयले विश्वासको मतसम्बन्धी कार्यसूची तयारी र आवश्यक व्यवस्थापन गरिरहेको जनाएको छ ।

प्रदेशसभामा हाल रहेका दलहरूको संख्यात्मक अवस्थालाई हेर्दा मुख्यमन्त्री यादवले सहज रूपमा विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ ।
विश्वासको मत प्राप्त गरेपछि मधेश प्रदेश सरकारको कार्यकाल थप स्थायित्वतर्फ अघि बढ्ने र बजेट कार्यान्वयन, विकास निर्माण तथा सुशासनका विषयमा सरकार सक्रिय हुने विश्वास छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

