मधेश प्रदेश सभामा आज सभामुख चयन प्रक्रिया अघि बढ्दै

जनकपुरधाम, २ पुष । मधेश प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । लामो समयदेखि रिक्त रहेको सभामुख पद पूर्ति गर्न निर्वाचन प्रक्रिया अघि बढाउने उद्देश्यले प्रदेश सभा बैठक आह्वान गरिएको हो ।
प्रदेश सभा बैठक बस्नु अघि उपसभामुख बबिता राउत ईशरको कार्यकक्षमा सर्वदलीय बैठक बसेको छ । उक्त बैठकमा सभामुख निर्वाचनको प्रक्रिया, कार्यविधि र राजनीतिक सहमतिका विषयमा छलफल भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकबाट सभामुख निर्वाचन प्रक्रियालाई औपचारिक रूपमा अनुमोदन गरिनेछ । त्यसपछि निर्वाचनको कार्यतालिका प्रकाशित गरी सभामुख चयनको प्रक्रिया तत्काल सुरु गरिने तयारी गरिएको छ ।
गत मंसिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डलमाथि पदअनुकूल आचरण नगरेको आरोपसहित ल्याइएको प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइ बहुमतले पारित भएपछि सभामुख पद रिक्त रहँदै आएको छ । त्यसयता प्रदेश सभा नेतृत्वविहीन अवस्थामा रहँदा संसदीय गतिविधिमा असर परेको भन्दै चाँडो सभामुख चयनको माग हुँदै आएको थियो ।
राजनीतिक रूपमा मधेश प्रदेश सरकारमा हाल सात दल सहभागी छन् । गठबन्धनभित्र नेपाली कांग्रेसले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको छ भने गठबन्धनको दोस्रो ठूलो दल जसपा नेपालले सभामुख पदमा आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । सभामुख चयनका विषयमा गठबन्धनभित्र सहमति जुट्ने वा प्रतिस्पर्धात्मक निर्वाचन हुने भन्ने चासो बढेको छ ।
यता, हालै सम्पन्न मन्त्रीपरिषद् विस्तारपछि सत्तारुढ सात दलबीच मतभेद सतहमा आउन थालेको छ । विशेषगरी जनमत पार्टीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नपाएको विषयलाई लिएर असन्तुष्टि जनाएको छ । पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै माग सम्बोधन नभए सरकारबाट बाहिरिने चेतावनीसमेत दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

