जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न

जनकपुरधाम, २ पुष । भारत र नेपालबीच नयाँ प्रविधि तथा स्टार्टअप सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले ‘नयाँ प्रविधि तथा स्टार्टअप क्षेत्रमा भारत–नेपाल सहकार्य’ विषयक गोलमेच छलफल जनकपुरधाममा सम्पन्न भएको छ । दुवै देशका युवा उद्यमी, स्टार्टअप प्रवद्र्धक तथा एमएसएमई क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिताबीच कार्यक्रम सम्पन्न भएको हो ।
भारतको कन्सुलेट जनरल अफ इन्डिया, वीरगञ्ज तथा नेपाल यंग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) का वीरगञ्ज र जनकपुरधाम अध्यायहरूको सहकार्यमा पीएचडीसीसीआई भारत–नेपाल सेन्टरद्वारा आयोजित कार्यक्रममा करिब ४० भन्दा बढी स्टार्टअप तथा एमएसएमई प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रममा दुई देशबीच प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा खुला छलफल गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवीसहाय मिणाले भारत–नेपालबीच प्रविधि र स्टार्टअप क्षेत्रमा सहकार्य विस्तारका लागि यस्ता संवाद र अन्तरक्रिया कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने बताए ।
उनले आर्टिफिसियल इन्टेलिजेन्स, सूचना प्रविधि तथा आईटी सक्षम सेवाको क्षेत्रमा भारतसँग रहेको अनुभव, सीप र पूर्वाधार नेपाली स्टार्टअप तथा उद्यमीहरूका लागि उपयोगी बन्न सक्ने उल्लेख गरे । ‘दुई देशका उद्यमीबीच ज्ञान, प्रविधि र अनुभव आदान–प्रदान भएमा क्षेत्रीय आर्थिक विकासमा नयाँ गति आउन सक्छ,’ उनले भने ।
कार्यक्रमको अध्यक्षता गरेका पीएचडीसीसीआई भारत–नेपाल सेन्टरका वरिष्ठ सचिव अतुल ठाकुरले मधेश प्रदेश र समग्र नेपालको औद्योगिकीकरणको विगत, वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे विस्तृत प्रस्तुति दिए । उनले मधेश प्रदेशको भौगोलिक अवस्थिति, श्रमशक्ति र सीमापार व्यापारको सम्भावनालाई सदुपयोग गर्न सके नेपालमा उद्योग तथा स्टार्टअपको विकासका लागि ठूलो अवसर रहेको धारणा राखे ।
गोलमेच छलफलमा सहभागी स्टार्टअप संस्थापक र एमएसएमई प्रतिनिधिहरूले सीमापार लगानी, प्रविधि हस्तान्तरण, बजार पहुँच र नीतिगत सहजीकरणका विषयमा आफ्ना धारणा राखेका थिए । उनीहरूले भारत–नेपालबीच स्टार्टअप इकोसिस्टम जोड्न नियमित संवाद, संयुक्त कार्यक्रम तथा सहकार्य परियोजनाहरू आवश्यक रहेको सुझाव दिएका थिए ।
कार्यक्रमले दुवै देशका युवा उद्यमी र प्रविधि क्षेत्रमा क्रियाशील सरोकारवालाबीच नेटवर्क विस्तार गर्नुका साथै भविष्यमा ठोस सहकार्यका ढोका खोल्ने विश्वास गरिएको छ । आयोजकका अनुसार आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै भारत–नेपाल प्रविधि तथा स्टार्टअप साझेदारीलाई संस्थागत रूपमा अघि बढाउने योजना रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

