मन्त्री पटेलले सम्हाले उद्योग मन्त्रालय, युवामैत्री नीति ल्याउने प्रतिबद्धता

जनकपुरधाम, २ पुष । मधेश प्रदेशका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिष पटेलले बुधबार बिहान पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणसँगै मन्त्री पटेलले मधेशका युवालाई उद्यमशीलतामा आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनु आफ्नो पहिलो प्राथमिकता रहने स्पष्ट पारेका छन् ।
मन्त्री पटेलले जेनजी आन्दोलनको मर्म र भावनालाई आत्मसात गर्दै युवाहरुले सुरु गर्न लागेको व्यवसायमा विशेष किसिमको सहुलियत र छुटको व्यवस्था गर्ने योजना अघि सारेका छन् ।
‘युवाहरु अवसरको खोजीमा प्रदेश बाहिर जानु नपरोस् भन्ने हाम्रो चाहना हो,’ मन्त्री पटेलले भने, ‘यस मन्त्रालयमार्फत युवाहरुले सुरु गर्ने उद्यमलाई प्रोत्साहन गर्ने ठोस कार्यक्रम ल्याइनेछ ।’
उनका अनुसार नयाँ पुस्ताका उद्यमीहरुलाई हौसला दिन उत्कृष्ट काम गर्ने युवा व्यवसायीहरुलाई पुरस्कृत गर्ने योजना समेत तयार पारिनेछ । यसले मधेश प्रदेशमा उद्यमशीलताको संस्कार विकास गर्न मद्दत पुग्ने मन्त्री पटेलको विश्वास छ ।
यसैगरी, मन्त्री पटेलले संघीय सरकारसँग समन्वय गर्दै मधेश प्रदेशमा धार्मिक पर्यटनको सम्भावना उपयोग गर्ने योजनामा पनि जोड दिएका छन् । मधेश धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले समृद्ध प्रदेश भएकाले यहाँका धार्मिक स्थलहरूको प्रवद्र्धनमार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ छ ।
गत मंसिर २१ गते कृष्ण प्रसाद यादवले मधेश प्रदेशको मुख्यमन्त्री पदको शपथ लिँदा कनिष पटेलले विना विभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरेका थिए । त्यसपछि मुख्यमन्त्री यादवले दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्दा पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

