मधेशमा तिवारीको मन्त्री यात्रा जारी

जनकपुरधाम, १ पुष । मधेश प्रदेश सभाको दोस्रो कार्यकाल चलिरहँदा महोत्तरी निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रानी शर्मा तिवारी प्रदेश राजनीतिमा ‘सदावहार मन्त्री’को रूपमा स्थापित हुँदै गएकी छन् । लगातार सरकार परिवर्तन भइरहँदा पनि उनी पुनः मन्त्री बन्न सफल भएकी छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँगै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित तिवारीले दोस्रो कार्यकालमै फेरि मन्त्रीको शपथ लिएकी हुन् ।
यसअघि सतिशकुमार सिंह नेतृत्वको सरकारमा शिक्षा तथा संस्कृति मन्त्रीको जिम्मेवारी सम्हालेकी तिवारीले अहिले कृष्णप्रसाद यादव नेतृत्वको वर्तमान प्रदेश सरकारमा पनि शिक्षा तथा संस्कृति मन्त्रीकै रूपमा शपथ लिएकी छन् ।
कांग्रेस नेतृत्वमा गठन भएको वर्तमान गठबन्धन सरकारमा समेत तिवारीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइनु उनको राजनीतिक प्रभाव र पार्टीभित्रको हैसियतको संकेतका रूपमा हेरिएको छ ।
फरक–फरक सरकारमा निरन्तर मन्त्री बन्न सफल भएकी उनी मधेश प्रदेशकै कम नेतृमध्ये पर्छिन्, जसले दोस्रो कार्यकालमै मन्त्री पदमा निरन्तरता पाएकी छन् ।
लोसपाभित्र नयाँ अनुहारलाई सरकारमा पठाउनुपर्ने आवाज उठिरहेकै बेला अध्यक्ष महन्थ ठाकुरकी विश्वासपात्र मानिएकी तिवारीले ती दबाबलाई चिर्दै पुनः मन्त्री बन्न सफलता हासिल गरेकी हुन् । सरकार परिवर्तनसँगै मन्त्री फेरबदलको चर्चा चलिरहँदा पनि तिवारीको नाम सधैं मन्त्रीको सूचीमा अग्रपंक्तिमा रहँदै आएको छ ।
लगातार सत्ता समीकरण फेरिए पनि मन्त्री पदमा उनको निरन्तरताले मधेश प्रदेशको राजनीतिक वृत्तमा उनलाई ‘सदावहार मन्त्री’ को उपनाम दिलाएको छ । पार्टी सरकारमा सहभागी हुने निर्णय गरेपछि तिवारी मन्त्री बन्ने दौडमा सधैं पहिलो प्राथमिकतामा पर्ने गरेको लोसपाभित्रै चर्चा हुने गरेको छ ।
मधेश प्रदेश सभामा लोसपाबाट तिवारीसँगै जयलुन राइन र उपेन्द्र महतो दोस्रो पटक निर्वाचित भए पनि उनीहरू अहिलेसम्म मन्त्री बन्न सकेका छैनन् । पार्टीभित्र अन्य प्रदेशसभा सदस्यहरू मन्त्री बन्ने आकांक्षामा रहे पनि अध्यक्ष ठाकुरको विश्वास तिवारीमाथि नै केन्द्रित रहेको देखिन्छ ।
राजनीतिक वृत्तमा तिवारी पटक पटक विवादमा तानिँदै आएकी भए पनि पार्टी नेतृत्वमाथि उनको प्रभाव कायमै छ । केही समयअघि मन्त्री नबनाए पार्टी छाड्ने चेतावनीसमेत दिँदै दबाब सिर्जना गरेको चर्चा भए पनि अन्ततः उनी पुनः मन्त्री बन्न सफल भएकी छन् ।
यसले लोसपाभित्र शक्ति सन्तुलन, नेतृत्वको प्राथमिकता र आन्तरिक राजनीतिबारे प्रश्न उठाएको छ । यद्यपि, निरन्तर मन्त्री बन्न सफल रानी शर्मा तिवारीले मधेश प्रदेशको राजनीतिमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै लगेकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

