जनकपुरधाममा नेपाल जेसिजको राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा

जनकपुरधाम, १ पुष । जनकपुरधाममा हुने नेपाल जेसिजको ५२औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
पुष ४ गतेदेखि पुस ७ गतेसम्म जनकपुर जेसिजको आयोजनामा जनकपुरधामस्थित तिरहुतिया गाछीमा हुने चारदिने सम्मेलनको करिब ८० प्रतिशत तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।
नेपाल जेसिजको ५२औँ महाधिवेशनका निर्देशक सुधिर पजियारका अनुसार सम्मेलन स्थलमा निर्माणाधीन पण्डालको काम अन्तिम चरणमा पुगेको छ भने देशभरिबाट आउने डेलिगेट्सहरूको आवास, यातायात तथा अन्य व्यवस्थापन कार्य पनि लगभग टुंगो लागिसकेको छ । उनले जनकपुरधामलाई राष्ट्रियस्तरको कार्यक्रमका लागि पूर्ण रूपमा तयार पार्ने लक्ष्यसहित काम तीव्र गतिमा भइरहेको बताए ।
चार दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनको पहिलो दिन भव्य उद्घाटन समारोह आयोजना गरिनेछ । त्यसपछि बाँकी तीन दिन विभिन्न कार्यक्रमहरू सञ्चालन हुनेछन् । जसअन्तर्गत ओरेटरी कन्टेस्ट, थिम सेमिनार, राष्ट्रिय एसेम्बलीसहित नेपाल जेसिजले तय गरेका विविध नेतृत्व विकास, व्यक्तित्व विकास तथा संगठनात्मक गतिविधिहरू समावेश रहनेछन् ।
सम्मेलनका क्रममा देशभरिका जेसिज शाखाबाट ३ हजारभन्दा बढी प्रतिनिधि तथा अतिथिहरूको सहभागिता रहने अनुमान गरिएको छ । यति ठूलो संख्यामा सहभागी हुने भएकाले जनकपुरधामलाई पाहुनामैत्री शहरका रूपमा प्रस्तुत गर्न उपमहानगरपालिका पनि तयारीमा जुटेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले जेसिजको राष्ट्रिय सम्मेलनलाई ऐतिहासिक बनाउने गरी उपमहानगर आतुर रहेको बताउँदै पाहुनाहरूको स्वागत र व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
आर्थिक पक्षका बारेमा जानकारी दिँदै निर्देशक पजियारले सम्मेलन आयोजनाका लागि करिब ३ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको जानकारी दिए । कुल खर्चमध्ये करिब १ करोड २० लाख रुपैयाँ जनकपुरधाम आउने डेलिगेट्सबाट दर्ता शुल्कमार्फत संकलन गरिनेछ भने बाँकी रकम विभिन्न प्रायोजक तथा सहयोगी संस्थामार्फत जुटाइने जनाइएको छ ।
जनकपुरधाममा आयोजना हुन लागेको नेपाल जेसिजको ५२औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशनले शहरको पर्यटन, होटल व्यवसाय र स्थानीय अर्थतन्त्रलाई समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । साथै, युवा नेतृत्व विकास र राष्ट्रियस्तरको नेटवर्क विस्तारमा सम्मेलन महत्वपूर्ण हुने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

