जनकपुरधाम, १ पुष । मधेश प्रदेश सभाको बैठक बुधबारदेखि सुरु हुने भएको छ । प्रदेश सभा सचिवालयका सचिव बासु कोइरालाका अनुसार बैठक बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको हो ।

सचिवालयका अनुसार सात दलबीच भएको सहमतिको आधारमा प्रदेश सभा बैठक बोलाइएको हो ।

प्रदेश सभाको पुष ४ गते बस्ने बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ । विश्वासको मतमार्फत मुख्यमन्त्री यादवले आफ्नो सरकारलाई प्रदेश सभामा वैधानिकता पुष्टि गर्ने तयारी गरेका छन् ।

यसैगरी, मधेश प्रदेश सभाका तत्कालीन सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि रिक्त रहेको सभामुख पदमा नयाँ सभामुख चयन गर्ने कार्यक्रम समेत कार्यसूचीमा समावेश गरिएको सचिवालयले जनाएको छ । सभामुख चयनसँगै प्रदेश सभा सञ्चालन थप व्यवस्थित र नियमित हुने विश्वास गरिएको छ ।

प्रदेश सभाको बैठकमा विश्वासको मत र सभामुख चयन दुवै महत्वपूर्ण राजनीतिक एजेन्डा भएकाले बैठकलाई चासोका साथ हेरिएको छ । दलहरूबीच सहमतिका आधारमा प्रक्रिया अघि बढ्ने जनाइएको छ ।