जनकपुरधाम, १ पुष । मैथिली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेलिसिरियलमार्फत लामो समयदेखि सक्रिय रहँदै आएको मिथिलाको चर्चित कलकतीयाबाली समूहले पहिलो पटक ठुलो पर्दाको चलचित्र ‘कलकतियावाली’ निर्माण गरी प्रदर्शनको तयारी गरेको छ ।

समूहको यो पहिलो फिचर फिल्म पुष ४ गते शुक्रबार जनकपुरधामस्थित आशा चलचित्र मन्दिरमा प्रदर्शनमा ल्याइने भएको छ ।

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्म निर्माण र प्रदर्शनसम्बन्धी विस्तृत जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै कलाकार तथा निर्माण पक्षले ‘कलकतियावाली’ मैथिली समाजका यथार्थ समस्या, सामाजिक विकृति र विसङ्गतिमाथि केन्द्रित रहेको बताएका छन् ।

नेपाल चलचित्र बोर्डबाट सेन्सर पास भइसकेको उक्त फिल्ममा प्रमुख भूमिका निर्वाह गरेका कलाकार अविनाश झाले चलचित्रले मनोरञ्जनसँगै सामाजिक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनका अनुसार फिल्मले समाजमा विद्यमान गलत प्रवृत्तिमाथि प्रश्न उठाउँदै सकारात्मक सोच र परिवर्तनको सन्देश दिनेछ ।

वरिष्ठ कलाकार रामनारायण ठाकुरले ‘कलकतियावाली’ ले समाजमा गहिरो जरा गाडेर बसेका विकृति र विसङ्गतिमाथि कडा प्रहार गर्ने बताए । ‘फिल्मले केवल कथा मात्र नभई समाज परिवर्तनको सशक्त सन्देश बोकेको छ,’ उनले भने, ‘दर्शकले यसमा आफू वरपरको समाजको प्रतिबिम्ब देख्न सक्नुहुन्छ ।’

निर्माण पक्षका अनुसार फिल्म करिब २ घण्टा १५ मिनेट लामो रहेको छ । सशक्त कथा, जीवन्त अभिनय र भावनात्मक प्रस्तुतीका कारण समय बितेको पत्तो नै नलाग्ने दाबी गरिएको छ । साथै, फिल्ममा समावेश गीत संगीत पनि आकर्षक र कर्णप्रिय भएकाले दर्शकले मन पराउने कलाकारहरूको विश्वास छ ।
‘कलकतियावाली’ शुरुवाती रूपमा एक सातासम्म प्रदर्शन गरिनेछ । दर्शकको प्रतिक्रिया सकारात्मक आएमा प्रदर्शन अवधि थप गरिने निर्माण पक्षले जनाएको छ । जनकपुरधामपछि मिथिलाञ्चलका विभिन्न जिल्ला तथा भारतको बिहार राज्यमा मैथिली भाषीको बाक्लो बसोबास रहेको मधुबनी र दरभंगाका चलचित्र मन्दिरहरूमा समेत फिल्म प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

फिल्ममा करिब ४० जना कलाकारहरूको अभिनय रहेको छ । चलचित्रका निर्माता विजय यादव छन् भने निर्देशन अरुण विजयाले गरेका छन् । कलाकारितामा अविनाश झा, रामनारायण ठाकुर, ईसिका भुजेल, श्याम शशी लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

मैथिली भाषाको फिल्म उद्योगलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको ‘कलकतियावाली’ ले स्थानीय कला, संस्कृति र पहिचानलाई ठुलो पर्दामार्फत उजागर गर्ने विश्वास गरिएको छ ।