प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत महोत्तरीको डाम्हीमा कृषि सडक निर्माण तीव्र

महोत्तरी, १ पुष । महोत्तरी गाउँपालिका–३ स्थित डाम्ही टोलमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत श्रमिकहरूको सहभागितामा कृषि सडक निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ ।
स्थानीय कृषकको आवागमन सहज बनाउने तथा उत्पादनलाई बजारसम्म पुर्याउन सहयोग पुर्याउने उद्देश्यले आलिलाई कृषि सडकको रूपमा निर्माण गर्ने काम थालिएको हो ।
गाउँपालिका अध्यक्ष दिलिप पाण्डेयका अनुसार लामो समयदेखि बाटोको अभावका कारण खेतीपातीमा प्रयोग हुने सामग्री ढुवानी तथा उत्पादित अन्न, तरकारी र फलफूल बजारसम्म पुर्याउन स्थानीयलाई कठिनाइ हुँदै आएको थियो ।
‘कृषि सडक बनेपछि किसानको समय र लागत दुवै बचत हुनेछ,’ उनले भने, ‘यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा छ ।’
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत बेरोजगार श्रमिकहरूलाई प्राथमिकताका साथ काममा लगाइएको छ ।

सडक सम्याउने, नाली निर्माण तथा माटो कटान रोक्ने जस्ता काममा स्थानीय श्रमिकहरू सक्रिय छन् ।
कार्यक्रमले एकातर्फ बेरोजगारलाई रोजगारी उपलब्ध गराएको छ भने अर्कोतर्फ आवश्यक पूर्वाधार निर्माणलाई गति दिएको स्थानीयको भनाइ छ ।
स्थानीय किसान विक्की चौधरीका अनुसार वर्षायाममा बाटोको अभाव हुँदा खेतसम्म ट्र्याक्टर र अन्य कृषि उपकरण लैजान समस्या हुने गर्थ्यो । ‘अहिले सडक निर्माण सुरु भएपछि आशा पलाएको छ,’ उनले भने, ‘काम सम्पन्न भएपछि उत्पादन बढाउने र बजारमा सजिलै बेच्ने वातावरण बन्छ ।’
गाउँपालिकाले निर्माण कार्यको गुणस्तरमा ध्यान दिइरहेको र समयमै काम सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ ।
प्राविधिक टोलीले नियमित अनुगमन गरिरहेको छ भने आवश्यक बजेट व्यवस्थापन पनि सुनिश्चित गरिएको बताइएको छ ।
स्थानीय बासिन्दाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीसँगै विकासको काम अगाडि बढेको भन्दै खुसी व्यक्त गरेका छन् ।

कृषि सडक निर्माण सम्पन्न भएपछि डाम्हीका किसानको जीवनस्तर सुधार हुने र समग्र ग्रामीण विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

