जनमत पार्टीद्वारा मधेश सरकारबाट बाहिरिने चेतावनी

जनकपुरधाम, १ पुष । जनमत पार्टीले मधेश प्रदेश सरकारमा आफ्नो उपस्थिति कमजोर बनाइएको भन्दै सरकारबाट अलग हुने चेतावनी दिएको छ ।
सत्ता साझेदार दलका रूपमा सरकारमा सहभागी जनमत पार्टीले भागबण्डाको नाममा महत्वपूर्ण मन्त्रालय गुमाउँदा पार्टीको नीति, कार्यक्रम र लक्ष्य प्रभावित हुने भन्दै असन्तुष्टि जनाएको हो ।
जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष बसन्त कुशवाहाले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै मधेश प्रदेश सरकारमा जनमत पार्टीको भूमिका दयनीय अवस्थामा पुगेको बताएका छन् ।
उनले आर्थिक वर्ष २०८२/०८३ का लागि उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत दशौं हजार युवालाई रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी कार्यक्रम बजेटमै समावेश गरिएको स्मरण गराउँदै उक्त मन्त्रालय अन्य दललाई दिनु जनमत पार्टीका कार्यक्रमलाई निष्क्रिय बनाउने प्रयास भएको आरोप लगाए ।
‘भागबण्डाको नाममा हाम्रो मुख्य एजेन्डासँग जोडिएको मन्त्रालय अरूलाई दिनु भनेको रोजगारी सिर्जनाका सम्पूर्ण कार्यक्रमलाई अलपत्र पार्नु हो,’ कुशवाहाले लेखेका छन् । उनले पार्टीको उद्देश्य र एजेन्डा अनुसार सरकारमा सुनिश्चित भूमिका नपाए जनमत पार्टीले मधेश प्रदेश सरकारबाट अलग हुने निर्णय गर्नुपर्ने अवस्था आउने स्पष्ट संकेत गरेका छन् ।
सोमबार मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय माओवादी केन्द्रको भागमा पारेपछि जनमत पार्टी थप असन्तुष्ट बनेको हो । मन्त्रिपरिषद् विस्तारसँगै सरकार ६ सदस्यीय बनेको छ भने अझै ६ वटा मन्त्रालय मुख्यमन्त्री यादवले आफैंसँग राखेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

