धनुषामा वातावरणमैत्री वायो प्लास्टिक उद्योग सञ्चालनमा, तीन महिनामै गलेर मल बन्ने झोला उत्पादन

जनकपुरधाम, २९ मंसिर । प्लास्टिकजन्य फोहोरका कारण बढ्दो वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्ने उद्देश्यसहित धनुषामा वातावरणमैत्री वायो प्लास्टिक उद्योग सञ्चालनमा आएको छ ।
जानकी वायो प्लास्टिक उद्योग प्रालिले उत्पादन गर्ने झोलाले वातावरणमा शून्य प्रभाव पार्ने दाबी गरिएको छ ।
उद्योगले उत्पादन गर्ने वायो प्लास्टिकका झोलाहरू पानीमा वा माटोमा गाड्दा करिब तीन महिनाभित्र पूर्ण रूपमा गलेर नष्ट हुने र कम्पोस्ट मलका रूपमा प्रयोगयोग्य हुने उद्योग पक्षको भनाइ छ ।
कालो प्लास्टिकका झोलाले वातावरण र कृषिमा पारेको नकारात्मक असरलाई कम गर्न वायो प्लास्टिक दरिलो विकल्प भएको कार्यक्रममा सहभागी वक्ताहरूले बताएका छन् ।
उद्योगको उद्घाटन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले उपमहानगरपालिका क्षेत्रमा वायो प्लास्टिक झोलाको प्रयोगलाई प्रोत्साहन गरिने बताए ।
उनले मकैको खोस्टाबाट तयार हुने कच्चा पदार्थ प्रयोग भएकाले यस झोलाको नष्टिकरणपछि पनि कम्पोस्ट मल बन्ने विशेषता रहेको उल्लेख गर्दै यस उद्योगको पहललाई वातावरण संरक्षण अभियानका रूपमा अघि बढाइने धारणा व्यक्त गरे ।
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–१ मा स्थापना भएको जानकी वायो प्लास्टिक उद्योग प्रालिले दैनिक ८ सय किलोग्रामसम्म वायो प्लास्टिक झोला उत्पादन गर्न सक्ने क्षमता राखेको छ ।
साढे चार करोड रुपैयाँको लगानीमा स्थापना भएको यस उद्योगले कालो प्लास्टिक झोलालाई विस्थापित गर्न सके वातावरण संरक्षणमा उल्लेखनीय योगदान पुग्ने डा. नागेन्द्र प्रसाद यादवले बताए ।
उद्योगका सञ्चालक लक्ष्मी महासेठले वातावरण संरक्षण नै उद्योग स्थापनाको मुख्य उद्देश्य भएको बताउँदै वायो प्लास्टिक झोला अन्य प्लास्टिक झोलाभन्दा केही महँगो भए पनि दीर्घकालीन रूपमा सबैका लागि लाभदायक हुने बताए। उद्योगले वायो प्लास्टिक झोलाको मूल्य प्रतिकिलो २ सय ८० रुपैयाँ निर्धारण गरेको छ ।
उद्योग उद्घाटन समारोहमा क्षिरेश्वरनाथ नगरपालिका–१ का वडाध्यक्ष मकेश्वर यादव र जनकपुरधाम उपमहानगरपालिका–९ का वडाध्यक्ष परमेश्वर साहलगायतले पनि वातावरणमैत्री उद्योगको महत्वबारे धारणा राखेका थिए ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

