जनकपुरधाम, २९ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका दुई मन्त्रीले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सोमबार साँझ लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी कुमारी तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीको रूपमा तथा नेकपा माओवादी केन्द्रका जवाहरलाल कुश्वाहाले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् ।

यसैबीच, यसअघि बिनाविभागीय मन्त्री रहेका नेपाली कांग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने नेकपा (एकीकृत समाजवादी) का कनिष पटेलले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय सम्हालेका छन् । जनमत पार्टीका महेशप्रसाद यादव यसअघि नै अर्थ मन्त्रीको रूपमा कार्यरत छन् ।

दुई मन्त्री थपिएसँगै मुख्यमन्त्री यादव नेतृत्वको प्रदेश सरकार ६ सदस्यीय बनेको छ ।

हाल मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट मुख्यमन्त्रीसहित एक मन्त्री, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्रबाट एक–एक जना मन्त्री सहभागी छन् ।

यद्यपि जनता समाजवादी पार्टी नेपालबाट भने अहिलेसम्म सरकारमा सहभागिता देखिएको छैन ।