मधेश प्रदेशमा स्थानीय तहका कर्मचारी भर्नाका लागि विज्ञापन खुल्दै

जनकपुरधाम, २९ मंसिर । मधेश प्रदेश लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा कर्मचारी भर्नाका लागि मंगलवारदेखि औपचारिक रूपमा विज्ञापन प्रकाशन गर्ने भएको छ ।
प्रदेश लोक सेवा आयोगका अध्यक्ष शिवराम यादवका अनुसार लामो समयदेखि स्थानीय तहमा देखिँदै आएको जनशक्ति अभावलाई सम्बोधन गर्न आयोगले आवश्यक तयारी पूरा गरी विज्ञापन प्रक्रियामा जान लागेको हो ।
उनले विज्ञापन निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले अघि बढाइने स्पष्ट पारे ।
अध्यक्ष यादवले भने, ‘स्थानीय तहमा सेवा प्रवाह प्रभावकारी बनाउन दक्ष र योग्य जनशक्ति अनिवार्य छ । यही आवश्यकता अनुसार आयोगले भोलिदेखि कर्मचारी भर्नाका लागि विज्ञापन प्रकाशन गर्न लागेको हो ।’
उनका अनुसार परीक्षा सञ्चालन, नतिजा प्रकाशन तथा नियुक्ति प्रक्रिया कानुनअनुसार समयमै सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
आयोगले प्रकाशित गर्ने विज्ञापनमा प्रशासन, लेखा, प्राविधिक तथा अन्य सेवा समूहका पदहरू समावेश हुने जानकारी दिइएको छ ।
अध्यक्ष यादवले योग्य र इच्छुक उम्मेदवारलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गर्दै सबै प्रक्रियामा समान अवसर सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय तहमा कर्मचारी अभावका कारण विकास निर्माण, सेवा प्रवाह र प्रशासनिक कामकाज प्रभावित हुँदै आएको अवस्थामा आयोगको यो कदमलाई महत्वपूर्ण मानिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

