मधेश प्रदेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने

जनकपुरधाम, २८ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री निवास मधेश भवनमा बसेको सत्तारुढ सात दलको बैठकले उक्त मितिमा विश्वासको मत लिने सहमति गरेको हो ।
बैठकपछि जानकारी दिँदै जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोज कुमार यादवले पुस ४ गते विश्वासको मत लिने विषयमा सबै दलबीच सहमति जुटेको बताए । उनका अनुसार राजनीतिक सहमति कायम रहेमा विश्वासको मत लिनु अघि नै सबै सहभागी दलबाट एक–एक जना मन्त्री नियुक्त गरिनेछ । सहमति कायम हुन नसकेमा भने विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार गरिने उनको भनाइ छ ।
नेता यादवले हाल नेकपा एमालेको महाधिवेशन चलिरहेको कारण पनि विश्वासको मतको मिति पुस ४ गते तोकिएको स्पष्ट पारे । ‘सबै दलको उपस्थितिलाई सुनिश्चित गर्न र राजनीतिक वातावरण अनुकूल बनाउन सो मिति तय गरिएको हो,’ उनले भने ।
बैठकमा मधेश प्रदेश सभाको सभामुख चयनको विषयमा पनि छलफल भएको थियो । नेता यादवले सभामुख पद आफूहरूकै दलले पाउने दाबी गर्दै त्यसका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । मधेश प्रदेश सभाको नयाँ सभामुख चयनका लागि आगामी पुस २ गते प्रदेश सभाको बैठक बोलाइएको छ ।
हाल ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका कृष्णप्रसाद यादवको मन्त्रिपरिषद् आंशिक रूपमा मात्र गठन भएको छ । वर्तमान मन्त्रिपरिषद्मा जनमत पार्टीका संसदीय दलका नेता अर्थमन्त्रीको जिम्मेवारीमा छन् भने नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक कनिष पटेल र नेपाली कांग्रेसका जंगिलाल राय बिनाविभागीय मन्त्रीका रूपमा रहेका छन् ।
प्रदेश सरकारलाई पूर्णता दिन मन्त्रिपरिषद् विस्तार अपरिहार्य रहेको बताउँदै सत्तारुढ दलहरूले विश्वासको मतपछि राजनीतिक स्थायित्व कायम हुने अपेक्षा गरेका छन् । आगामी दिनमा सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँड र जिम्मेवारी वितरणलाई लिएर थप छलफल हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

