जनकपुरधाम, २९ मंसिर । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने २७औं पोखरा सडक महोत्सवको औपचारिक निम्तो लिएर पोखराका पर्यटन व्यवसायीहरू जनकपुरधाम आइपुगेका छन् ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको टोलीले जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै आम नागरिक, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूलाई महोत्सवमा सहभागी हुन आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महोत्सव संयोजक वसन्त गौतमले विगत २६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको पोखरा सडक महोत्सव यस वर्ष पनि निरन्तरताका साथ सञ्चालन हुन लागेको जानकारी दिए । उनका अनुसार यही पुस १३ गतेदेखि १७ गतेसम्म फेवा तालको किनारमा रहेको पोखराको लेकसाइड क्षेत्र महोत्सवस्थलका रूपमा रहनेछ ।

अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यका रूपमा पोखरालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले प्रत्येक वर्ष यो महोत्सव आयोजना हुँदै आएको गौतमले बताए । ‘पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य सत्कारलाई एकैसाथ प्रस्तुत गर्ने यो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ,’ उनले भने ।

महोत्सवका प्रमुख आकर्षणहरूबारे जानकारी दिँदै आयोजक समितिले विविध जातजातिका मौलिक सांस्कृतिक झाँकी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकार समेटिएको फुड फेस्टिभल, चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको लाइभ कन्सर्ट, लोक दोहोरी कार्यक्रम, फेवा तालमा आयोजना हुने बोट रेस, टग अफ वार प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिने जनाएको छ । साथै पर्यटन प्रवद्र्धनसम्बन्धी टक शो र फोटो प्रदर्शनीले महोत्सवलाई थप आकर्षक बनाउने विश्वास लिइएको छ ।

रेवान पोखराका प्रतिनिधिहरूले महोत्सव केवल मनोरञ्जनको माध्यम मात्र नभई स्थानीय उत्पादन, कला, संस्कृति र व्यवसाय प्रवर्द्धनको साझा थलोका रूपमा स्थापित हुँदै आएको बताए । महोत्सव अवधिभर होटल, रेष्टुरेन्ट, यातायात, हस्तकला तथा अन्य पर्यटनसँग सम्बन्धित व्यवसायमा सकारात्मक प्रभाव पर्ने विश्वास आयोजकको छ ।

पत्रकार सम्मेलनमार्फत सञ्चारमाध्यमको भूमिकालाई विशेष महत्व दिँदै महोत्सवसम्बन्धी सूचना, उद्देश्य र कार्यक्रमहरू व्यापक रूपमा प्रसारण गरिदिन सहयोगको अपेक्षा समेत गरिएको छ । सञ्चारकर्मीहरूसँगको सहकार्यले महोत्सवको सन्देश देशभर तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन मद्दत पुग्ने आयोजकहरूको भनाइ छ ।

आयोजक टोलीले अंग्रेजी नयाँ वर्षलाई विशेष र सम्झनलायक बनाउन पोखरा सडक महोत्सवमा सहभागी भई पोखराको कला, संस्कृति, स्वाद र उत्सवलाई नजिकबाट अनुभव गर्न सबैलाई आग्रह गरेको छ ।