महन्थ ठाकुरसहित सातको नाम समानुपातिकतर्फ सिफारिस

जनकपुरधाम, २८ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।
लोसपा नेपाल सर्लाही जिल्ला समितिको बैठकले फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष ठाकुरको नाम समानुपातिकतर्फ केन्द्रमा पठाउने निर्णय गरेको हो ।
सर्लाही जिल्ला सचिव मिथलेश यादवका अनुसार पार्टीको जिल्ला स्तरको छलफलपछि उक्त सिफारिस गरिएको हो ।
अध्यक्ष ठाकुर यसअघि सर्लाहीबाट दुई पटक प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए । तर, २०७९ सालको निर्वाचनमा भने उनी महोत्तरी–३ बाट निर्वाचित भएका थिए ।
बैठकले सर्लाहीका विभिन्न निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवारका नाम पनि केन्द्रमा सिफारिस गरेको छ । सर्लाही–१ बाट पार्टी उपाध्यक्ष रामप्रकाश चौधरी, सर्लाही–४ बाट महासचिव मनिष मिश्र र सर्लाही–३ बाट सचिव रामेश्वर रायको एकल नाम सिफारिस गरिएको छ । सर्लाही–२ बाट भने भिनुकलाल राय, रञ्जितकुमार ठाकुर र वीरवंश बैठाको नाम सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ अध्यक्ष ठाकुरसँगै अञ्जुदेवी बैठा, मिनादेवी महतो, सरिता देवी साह, सुनिता कुमारी देवी, कामरेन्द्र वर्मा र रेखाकुमार साहको नाम पनि केन्द्रमा पठाइएको जिल्ला सचिव यादवले जानकारी दिए ।
पार्टीले सर्लाहीमा संगठनलाई थप मजबुत बनाउँदै निर्वाचनमा प्रभावकारी उपस्थितिका लागि उम्मेदवार चयन प्रक्रिया अघि बढाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

