मधेशका पत्रकारलाई कृत्रिम बौद्धिकता तालिम

जनकपुरधाम, २८ मंसिर । मधेश प्रदेशको आम सञ्चार प्राधिकरणको आयोजनामा प्रदेशका विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरूका लागि एक दिने कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पत्रकारितामा प्रविधिको बढ्दो प्रयोग र विश्वव्यापी रूपमा तीव्र गतिमा फैलँदै गएको एआईको प्रभावलाई मध्यनजर गर्दै तालिम आयोजना गरिएको हो ।
तालिममा एआई के हो, यसको प्रयोगका क्षेत्र, पत्रकारितामा यसले ल्याउन सक्ने सकारात्मक परिवर्तन, समय तथा साधन–स्रोतको बचतका साथै प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा विस्तृत रूपमा जानकारी गराइएको थियो ।
प्रशिक्षकहरूले एआईले समाचार संकलन, डाटा विश्लेषण, सामग्री सम्पादनजस्ता कार्यमा सहयोग पुर्याए पनि यसमाथि पूर्ण निर्भर हुनु जोखिमपूर्ण हुन सक्ने भन्दै जिम्मेवार र नैतिक प्रयोगमा जोड दिए ।
कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवले समाजमा सकारात्मक परिवर्तन ल्याउन कृत्रिम बौद्धिकताको सावधानीपूर्वक उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए । उनले एआईसम्बन्धी तालिमले पत्रकारहरूको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आधुनिक सूचना प्रविधिको सही प्रयोगले पत्रकारिता थप प्रभावकारी बन्ने धारणा व्यक्त गरे ।
अर्थमन्त्री यादवले पत्रकारहरूको सुरक्षालाई ध्यानमा राख्दै दुर्घटना तथा स्वास्थ्य बिमालाई निरन्तरता दिन प्रदेश सरकार गम्भीर रहेको बताए । साथै पत्रकारहरूको भरण–पोषण र पेशागत सुरक्षाका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाले प्राधिकरणले मधेश प्रदेशभर कार्यरत पत्रकारहरूको जीवन बिमा तथा दुर्घटना बिमामा सहयोग गर्दै आएको जानकारी दिए । साथै विभिन्न सञ्चार माध्यमलाई सीमित भए पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको बताउँदै यसले सञ्चार क्षेत्रलाई टिकाउ बनाउन सहयोग पुगेको उनको भनाइ थियो ।
मधेश प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवले एआईको प्रयोगले पत्रकारहरूको कार्यक्षमता वृद्धि गर्न सकिने भए पनि यसैको भर पर्न नहुने चेतावनी दिए । उनले पत्रकारिताको मूल मर्म सत्य, तथ्य र जिम्मेवारी भएकाले प्रविधिलाई सहायक उपकरणका रूपमा मात्र प्रयोग गर्नुपर्ने धारणा राखे ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कुमार कर्णले पत्रकारहरू कृत्रिम बौद्धिकताको दास बन्न नहुने स्पष्ट पार्दै एआईलाई केवल टुल्सका रूपमा सीमित राख्नुपर्ने बताए । उनले मानवीय विवेक, अनुभव र फिल्ड रिपोर्टिङको विकल्प एआई हुन नसक्ने जिकिर गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका उपाध्यक्ष ज्योति झा, धनुषाका अध्यक्ष पुरन गुप्ता तथा आम सञ्चार प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत रञ्जिता साहले पनि आ–आफ्नो धारणा राखे । वक्ताहरूले एआईको प्रयोगले पत्रकारितामा नयाँ सम्भावना खोल्ने भए पनि नैतिकता, तथ्य जाँच र जिम्मेवारीलाई केन्द्रमा राखेर प्रयोग गर्नुपर्नेमा एकमत व्यक्त गरे ।
तालिममा सहभागी पत्रकारहरूले एआईबारे व्यावहारिक ज्ञान प्राप्त भएको बताउँदै आगामी दिनमा आफ्नो पेशागत काममा यसको विवेकपूर्ण प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

