जनकपुरधाम, २८ मंसिर । जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रभित्र दर्ता नभएका टेम्पु तथा ई–रिक्साको आवागमनमा कडाइ गर्ने निर्णय गरेको छ ।

नगरको सवारी व्यवस्थापनलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यसहित उपमहानगरपालिकाले यस्तो कदम चालेको हो ।

उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार जनकपुरधाम नगर क्षेत्रभित्र विधिवत् दर्ता भई नगरको चिन्ह नम्बर जउमनपा १ ‘ख’ प्राप्त गरेका ई–रिक्सा बाहेक अन्य सबै टेम्पु तथा ई–रिक्सालाई परिक्रमा सडक तथा नगरका भित्री सडकमा प्रवेश निषेध गरिएको छ । सूचनामा उल्लेख गरिएअनुसार यो नियम तत्काल लागू हुनेछ ।

नगरकार्यपालिकाको कार्यालयले निषेधित क्षेत्रमा टेम्पु वा ई–रिक्सा प्रवेश गरेको पाइएमा प्रत्येक पटक २०० का दरले जरिवाना गरिने स्पष्ट पारेको छ । नियम उल्लंघन गर्ने सवारीलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ ।

उपमहानगरपालिकाका अनुसार पछिल्लो समय जनकपुरधाममा टेम्पु तथा ई–रिक्साको संख्या अत्यधिक बढ्दै गएपछि ट्राफिक चाप बढ्नुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ ।

विशेषगरी परिक्रमा सडक र भित्री सडकमा अव्यवस्थित पार्किङ, मनपरी आवागमन र नियमको पालना नहुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भइरहेको गुनासो बढ्दै आएको थियो । यही अवस्थालाई मध्यनजर गर्दै सवारी व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन यस्तो निर्णय लिइएको उपमहानगरपालिकाले जनाएको छ ।

नगरकार्यपालिकाको कार्यालयले सम्बन्धित सबै सवारी चालक, व्यवसायी तथा सर्वसाधारणलाई जारी नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ । साथै, नियम उल्लंघन नगर्न र नगरको ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सबैलाई सचेत गराइएको छ ।

उपमहानगरपालिकाले आगामी दिनमा ट्राफिक प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी अनुगमनलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ ।

नगरभित्र दर्ता प्रक्रियालाई समेत व्यवस्थित गर्दै नियमअनुसार दर्ता भएका सवारीलाई मात्र सञ्चालन अनुमति दिइने नीति अवलम्बन गरिने उपमहानगरपालिकाको भनाइ छ ।