सप्तरी, २८ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरमा दनुवार समुदायको राष्ट्रिय सांस्कृतिक पर्व नेमान (न्वाङ्गी) धुमधामका साथ मनाइएको छ ।

स्थानीय दनुवार समुदायको अगुवाइमा देशमै पहिलोपटक दनुवार जातिले आफ्नो मौलिक पर्वलाई सार्वजनिक रूपमा औपचारिक कार्यक्रम आयोजना गरी मनाएको हो ।

लोपोन्मुख अवस्थामा पुगेको दनुवार समुदायको सांस्कृतिक पहिचान जोगाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा दनुवार समुदायका साथै स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, आदिवासी जनजाति अगुवा तथा कलाकारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

दनुवार जागरण समिति सप्तरी सुरुङ्गा नगरपालिकाका अध्यक्ष पुष्पराज सिंह दनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका पूर्वमन्त्री गोविन्द बहादुर न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी थिए । पूर्वमन्त्री न्यौपानेले दनुवार जातिले ‘नेमान (न्वाङ्गी)’ पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गर्दै प्रत्येक वर्ष सार्वजनिक रूपमा मनाउने अभियानको ब्यानर वाचन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेमान (न्वाङ्गी) पर्वलाई राष्ट्रिय चाडको रूपमा स्थापित गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘आफूले उत्पादन गरेको नयाँ अन्न कुलदेवतालाई चढाएर ग्रहण गर्ने परम्परा बोकेको यो पर्वले प्रकृति, कृषि र संस्कृतिको गहिरो सम्बन्धलाई उजागर गर्छ,’ उनले भने, ‘यस पर्वको सांस्कृतिक मात्र नभई कृषि क्षेत्रमा पनि विशेष महत्त्व छ ।’

देशमा मनाइने विभिन्न जातजातिका सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकता मजबुत बनाउने विश्वास व्यक्त गर्दै पूर्वमन्त्री न्यौपानेले दनुवार जातिलाई पाखा लगाएर समृद्ध नेपालको कल्पना गर्न नसकिने बताए । उनले दनुवार समुदायको इतिहास, संघर्ष र योगदानलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी सुरुङ्गा नगरपालिकाकी मेयर गिता चौधरीले दनुवार समुदायले आफ्नो मौलिक पर्व सार्वजनिक रूपमा मनाएकोमा खुशी व्यक्त गरिन् । उनले न्वाङ्गी पर्वको छुट्टै ऐतिहासिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक विशेषता र मूल्य–मान्यता रहेको उल्लेख गर्दै यस अवसरमा राष्ट्रिय विदा दिनुपर्ने माग गरिन् ।

मेयर चौधरीले न्वाङ्गी पर्व दनुवार समुदायको मात्र नभई थारु समुदाय लगायत अन्य समुदायले पनि मनाउँदै आएको बताउँदै यसको संरक्षण र प्रवद्र्धनका लागि नगरपालिकाबाट हुन सक्ने सबैखाले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

दनुवार जागरण समितिका केन्द्रीय उपाध्यक्ष विरेन्द्र सिंह दनुवारले दनुवार जातिको मौलिक नेमान (न्वाङ्गी) पर्व लोप हुने अवस्थामा पुगेको भन्दै यसको संरक्षणका लागि राज्यस्तरबाटै विशेष पहल आवश्यक रहेको बताए । उनले राज्यको विभेदकारी नीतिका कारण दनुवार समुदायको संस्कृति, भाषा र परम्परा ओझेलमा परेको आरोप लगाए ।

‘दनुवार समुदाय पछाडि पारिनुको मूल कारण राज्यको उदासीन नीति हो,’ उनले भने, ‘संविधानले दिएको अधिकार व्यवहारमा लागू हुन जरुरी छ ।’

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बृजमान तामाङ, सुरुङ्गा नगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष किरण कुमार पोखरेल, वडा नम्बर–४ का अध्यक्ष देवेन्द्र प्रसाद चौधरी, नेपाल सरकारका अवकाश प्राप्त उपसचिव श्यामसुन्दर सिंह दनुवार तथा आदिवासी जनजातिको परम्परा संस्कृतिका अध्येता सूर्य विनोद पोखरेलले शुभकामना मन्तव्य राख्दै दनुवार जातिको उत्थान र विकासका लागि राज्य तहबाट विशेष अधिकारसहितको नीति निर्माणमा जोड दिए ।

त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका वरिष्ठ उपाध्यक्ष उपेश सिंह दनुवार, दनुवार जागरण समितिका केन्द्रीय सदस्यहरू घुर्नीदेवी सिंह, उदय सिंह, अनिता सिंह तथा पूर्व केन्द्रीय सदस्य रणुदेव सिंह दनुवारले न्वाङ्गी पर्वमा राष्ट्रिय विदा दिनुपर्ने माग दोर्होयाए ।

दनुवार जागरण समिति सप्तरीका पूर्वअध्यक्ष खेमराज सिंह दनुवारद्वारा सञ्चालन गरिएको कार्यक्रममा स्वागत मन्तव्य चतुरानन्द सिंह दनुवारले राखेका थिए । जिल्लाका विभिन्न स्थानबाट आएका दनुवार समुदायका सदस्यहरू कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा दनुवार भेषभूषामा सजिएका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले मौलिक गीत तथा नृत्य प्रस्तुत गरी सांस्कृतिक माहोल थप जीवन्त बनाएका थिए । यस अवसरमा नयाँ चिउरा, सखर, दही, फूल र अक्षता कुलदेवतालाई चढाएर ‘नेमान’ प्रसादका रूपमा वितरण गरिएको थियो । साथै दनुवार जातिको परम्परागत खानाको प्रदर्शनी तथा न्वाङ्गी पूजा पनि सम्पन्न गरिएको थियो ।

मंसिर शुक्ल पक्षको दोस्रो हप्तामा मनाइने नेमान (न्वाङ्गी) पर्व दनुवार जातिले आफ्नो प्रमुख चाडका रूपमा मनाउँदै आएको परम्परा छ । नयाँ अन्न भित्र्याएपछि कुलदेवताको पूजा गरी सामूहिक रूपमा नयाँ अन्न ग्रहण गर्ने यो पर्व दनुवार समुदायको पहिचान, एकता र संस्कृतिको प्रतीक मानिन्छ ।

सार्वजनिक रूपमा पहिलोपटक भव्य कार्यक्रमका साथ मनाइएको नेमान (न्वाङ्गी) पर्वले दनुवार समुदायको सांस्कृतिक जागरणमा नयाँ ऊर्जा थपेको सहभागीहरूको विश्वास छ ।