जनताप्रति भरोसा फर्काउन गम्भीर आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री यादव

जनकपुरधाम, २८ मंसिर । मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवले जनतामा बढ्दै गएको वितृष्णा र असन्तुष्टिको कारणबारे गम्भीर रूपमा सोच्न जरुरी रहेको बताएका छन् ।
हरेक विषयमा जनता असन्तुष्ट देखिनु सामान्य कुरा नभएको उल्लेख गर्दै उनले यसका मूल कारण पहिचान गरी समाधानतर्फ अग्रसर हुन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका हुन् ।

आम सञ्चार प्राधिकरणद्वारा आयोजित कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी प्रशिक्षण कार्यशाला गोष्ठीमा प्रमुख अतिथिको आसनबाट बोल्दै अर्थमन्त्री यादवले जनप्रतिनिधि, सरकार, सञ्चार माध्यम र नागरिक समाज सबैले जनताप्रति दायित्वबोधका साथ काम गर्नुपर्ने बताए । ‘जनताको असन्तुष्टि हाम्रो कामप्रतिको ऐना हो,’ उनले भने, ‘यसलाई बेवास्ता नभई आत्मसमीक्षाको आधार बनाउनुपर्छ ।’
उनले वर्तमान मधेश प्रदेश सरकार २०८४ सालसम्म स्थायी रूपमा अगाडि बढ्ने दाबी गर्दै राजनीतिक अस्थिरताको हल्लाले विकास र सुशासनको यात्रालाई अवरुद्ध गर्न नहुने स्पष्ट पारे । ‘सरकार आफ्नो कार्यदिशामा स्पष्ट छ, जनताको अपेक्षाअनुसार नीतिगत तथा व्यवहारिक सुधार गर्दै अघि बढ्छ,’ उनले भने ।

अर्थमन्त्री यादवले सूचना प्रविधि र एआइको प्रयोगले शासन प्रणालीलाई पारदर्शी, प्रभावकारी र उत्तरदायी बनाउन सकिने उल्लेख गरे । यस्ता प्रविधिको सही उपयोगले सेवा प्रवाह छरितो बनाउने र जनताको विश्वास पुनःस्थापित गर्न सहयोग पुग्ने उनको भनाइ थियो । उनले पत्रकारिता क्षेत्रमा पनि एआइको प्रयोगले तथ्यपरक, छिटो र विश्वसनीय समाचार सम्प्रेषणमा मद्दत गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवले प्रविधिको विकाससँगै पत्रकारितामा नैतिकता र जिम्मेवारी झनै महत्वपूर्ण बन्दै गएको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्णले एआइले अवसरसँगै चुनौती पनि ल्याएकाले पत्रकारहरू थप सचेत हुनुपर्ने धारणा राखे ।

त्यसैगरी, नेपाल पत्रकार महासंघ मधेश प्रदेशकी उपाध्यक्ष ज्योति झाले एआइसम्बन्धी ज्ञान अभिवृद्धि पत्रकारहरूको पेशागत क्षमताका लागि अपरिहार्य रहेको बताइन् । उनले एआइको सही र खराब दुबै पक्ष रहेको बताइन् । झाले यसको सही सदुपयोग गरे अहिलेको २१औँ शताब्दीमा यो मानव जिवनका लागि अपरिहार्य रहेको सुनाइन् ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन साहले यस्ता तालिमले स्थानीय पत्रकारलाई समयसापेक्ष बनाउने उल्लेख गर्दै निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए ।
कार्यशालामा सहभागी वक्ताहरूले एआइ प्रविधिको जिम्मेवार प्रयोग, मिडिया साक्षरता र जनताको विश्वास जित्ने पत्रकारिताको विकासमा सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

