विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

सर्लाही, २७ मंसिर । सर्लाहीको गोडैता नगरपालिका–५ स्थित श्रीमती सरस्वती देवी कुशवाहा सामुदायिक आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, खेलकुद र शैक्षिक सामग्री वितरण गरिएको छ ।
नारी स्रष्टा समाज नेपालका अध्यक्ष तथा साहित्यकार ममता मृदुलले करिब २५ जना विद्यार्थीलाई स्विटर, टोपी, मोजा उपलब्ध गराउनुका साथै विद्यालयलाई भलिबल, फुटबल, बास्केटबल, ब्याडमिन्टन लगायतका खेलकुद सामग्री तथा विभिन्न पुस्तकहरू वितरण गरेकी छन् ।
साहित्यकार मृदुलले वितरणको क्रममा विद्यार्थीलाई एक–एक वटा न्यानो स्विटर, टोपी र मोजा प्रदान गरिएको बताउँदै अति विपन्न विद्यार्थीलाई जाडोको समयमा नियमित विद्यालय उपस्थित हुने वातावरण सुनिश्चित गर्न तथा उनीहरूको पढाइ सुधार र गुणस्तरीय बनाउने उद्देश्य रहेको स्पष्ट गरिन् ।
विद्यालयका संरक्षक तथा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतोले सो सामग्रीले विद्यार्थी र विद्यालय दुवैलाई राहत पुगेको बताए । ‘जाडो मौसममा न्यानो स्विटर, टोपी र मोजा पाएपछि विद्यार्थीहरू अत्यन्त हर्षित भएका छन्,’ उनले भने ।
विद्यालयका प्रधानाध्यापक रामप्रकाश महतोले साहित्यकार मृदुलको सहयोगको कदर गर्दै उनलाई मायाको चिनोद्वारा सम्मान गरिएको जानकारी दिए । सामग्री वितरण कार्यक्रममा विश्व नेपाली साहित्य समाज ललितपुरका अध्यक्ष निता श्रेष्ठ, बज्जिका साहित्य समाज सर्लाहीका सचिव मुकेश मिश्र लगायतका व्यक्तिहरूले पनि सहभागिता जनाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

