स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एकजना पक्राउ

रौतहट, २७ मंसिर । रौतहटको मौलापुर क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले मौलापुर–जयनगर सडकखण्डमा नियमित जाँचका क्रममा अवैध रकमसहित सो व्यक्तिलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–११ भगवानपुर बस्ने ३७ वर्षीय मुन्ना जैसवाल रहेका छन् । उनी हरानैयाबाट मधेश प्रदेश–०३–०२३ प ३११० नम्बरको मोटरसाइकलमा चढेर जयनगरतर्फ जाँदै थिए । प्रहरीले मोटरसाइकल रोकी चेकजाँच गर्दा झोलामा राखिएको नगद रकम फेला परेको हो ।
बरामद रकममा १ हजार रुपैयाँका ८३३ थान, ५०० रुपैयाँका ६२५ थान र १०० रुपैयाँका १५ थान गरी जम्मा ११ लाख ४७ हजार रुपैयाँ रहेको प्रहरी प्रवक्ताले जानकारी दिए । रकमको स्रोत स्पष्ट नभएकाले प्रहरीले जैसवाललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौरमा राखी थप अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार मौलापुर–देवाही गोनाही सडकखण्डको लाल बकैया नदी पुल नजिकै गरिएको नियमित चेकजाँचकै क्रममा रकम फेला परेको हो । शङ्कास्पद देखिएको रकम नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

