सरकारी स्कार्पियोमा निजी प्लेट लगाएर पूर्वमुख्यमन्त्री सिंहको राजनीतिक भेटघाट

जनकपुरधाम, २७ मंसिर । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह पदबाट हटेको दुई महिना बितिसक्दा पनि सरकारी सुविधाको दुरुपयोगको आरोपमा विवादमा तानिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उपलब्ध गराइएको ज १ झ ४७० नम्बरको सरकारी स्कार्पियो अहिलेसम्म फिर्ता नगरी उनले उस्तै देखिने निजी नम्बर प्लेट ज १ च ४७० राखेर प्रयोग गरिरहेको तथ्य सार्वजनिक भएको हो ।
पूर्वमुख्यमन्त्री सिंह विभिन्न स्थानमा ज १ च ४७० नम्बर प्लेट राखिएको स्कार्पियोमा हुइँकिरहेको अवस्थामा देखिँदै आएका छन् । सरकारी नम्बरको सट्टा निजी नम्बर प्रयोग गरिएको यो स्कर्पियो वास्तवमै सरकारी हो कि निजी भन्ने प्रश्न उठेपछि सोधपुछ गर्दा सिंहले जेनजी आन्दोलनका बेला सुरक्षा जोखिमका कारण सरकारी नम्बर प्लेट हटाएर निजी नम्बर प्लेट राखेर गाडी चलाइरहेको स्वीकार गरे । उनले भने, ‘रातो प्लेट बनाएको छु तर नम्बर ज १ झ नै हुनुपर्छ । अहिले कुन नम्बर राखिएको छ, म पनि बुझ्दै छु ।’
गत शनिबार सिंह यही ज १ च ४७० नम्बरको स्कार्पियो चढेर राजनीतिक भेटघाटका लागि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ पाठशाला पुगेका थिए । त्यतिबेला समेत सरकारी स्कार्पियोमा निजी नम्बर प्लेट प्रयोग गरिएको देखिएको थियो ।
जनमत पार्टीका नेता सिंह २५ जेठ २०८१ मा मधेश प्रदेशका मुख्यमन्त्री नियुक्त भएका थिए । तर, पार्टी अध्यक्ष सीके राउतको निर्देशनमा २४ भदौमा उनले पदबाट राजीनामा दिएका थिए । पदमुक्त भएको यति लामो समय बितिसक्दा पनि सरकारी गाडी फिर्ता नगर्नु र त्यसमा निजी नम्बर प्लेट प्रयोग गर्नुले कानुनी र नैतिक दुवै प्रश्न खडा गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्टोर शाखाका कम्प्युटर अधिकृत रामअशिष रायका अनुसार ज १ झ ४७० नम्बरको सरकारी स्कार्पियो हाल पनि पूर्वमुख्यमन्त्री सिंहकै जिम्मामा छ । ‘गाडी फिर्ता गर्न उहाँलाई मौखिक रूपमा जानकारी गराइसकेका छौं,’ रायले भने, ‘तर कार्यालयमा अझै गाडी आएको छैन । १–२ दिनभित्र पत्राचार गर्ने तयारी छ ।’
निजी नम्बर प्लेटको वास्तविकता बुझ्न यातायात व्यवस्था कार्यालय जनकपुरमा सोधपुछ गर्दा ज १ च ४७० नम्बर पिकअप गाडीको नाममा दर्ता रहेको खुलेको छ । कार्यालयका अनुसार उक्त पिकअप गाडी १५ साउन २०७० मा पूर्वमुख्यमन्त्री सिंहकै दाजु सुरजकुमार सिंहको नाममा नामसारी भएको थियो । तर, सो गाडी २०७१ सालपछि नवीकरण नगरिएको देखिएको छ ।
यस विषयमा दाजु सुरजकुमार सिंहसँग सम्पर्क गर्दा उनले ज १ च ४७० नम्बर आफ्नो पिकअप गाडीको भएको स्वीकार गरे । तर, उक्त नम्बर स्कर्पियोमा प्रयोग गरिएको विषयमा आफूलाई जानकारी नभएको उनको दाबी छ । ‘त्यो नम्बर मेरो पिकअपको हो, स्कर्पियोमा राखिएको छ भने मलाई थाहा छैन,’ उनले भने । पिकअप गाडी अहिले कहाँ छ भन्नेबारे भने उनले खुलाउन चाहेनन् ।
यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख धनञ्जय सिंहले पिकअप गाडीको नम्बर स्कार्पियोमा राखेर चलाउनु गैरकानुनी हुने स्पष्ट पारे । ‘त्यसरी फरक सवारीको नम्बर प्लेट प्रयोग गरेर चलाउन मिल्दैन,’ उनले भने, ‘यस्तो अवस्थामा ट्राफिक प्रहरीले तत्काल कारबाही गर्छ । जानकारी पाएमा हामी पनि छड्के जाँच गरी कारबाही प्रक्रिया अघि बढाउँछौं ।’
पूर्वमुख्यमन्त्रीजस्तो जिम्मेवार पदमा बसेका व्यक्तिबाट पदमुक्त भइसकेपछि पनि सरकारी गाडी फिर्ता नगर्नु र निजी नम्बर प्लेट प्रयोग गर्नुले सुशासन र कानुनी शासनप्रति गम्भीर प्रश्न उठाएको छ । अब यस विषयमा प्रदेश सरकार, ट्राफिक प्रहरी र सम्बन्धित निकायले कस्तो कदम चाल्छन् भन्ने चासो बढेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

