जनकपुरधाम, २७ मंसिर । मिथिला–मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय मिथिला नाट्यकला परिषद् (मिनाप) को ४६औँ साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ ।

साधारणसभाको सफलताप्रति सरोकारवाला तथा शुभेच्छुकहरूले शुभकामना व्यक्त गर्दै मिथिला र मैथिल समुदायको गौरवका लागि निरन्तर लागिरहेका अग्रज व्यक्तित्वहरूको योगदानको उच्च प्रशंसा गरेका छन् ।

मिथिला र मैथिलीको उन्नयन तथा भाषा–संस्कृतिको विकासमा उल्लेखनीय योगदान पुर्याएका तीन जना स्रष्टालाई यस अवसरमा सम्मान गरिएको छ । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, पत्रकार वीरेन्द्र रमण तथा पत्रकार ज्योति झालाई सम्मानपत्र, दोसल्ला तथा नगदसहित सम्मान गरिएको हो ।

सम्मानित व्यक्तित्वहरूले आ–आफ्नो क्षेत्रबाट मिथिला–मैथिली अभियानलाई अगाडि बढाउन पुर्याएको योगदानको स्मरण गर्दै मिनापले उनीहरूको योगदान अनुकरणीय रहेको जनाएको छ ।

साधारणसभामा मिनापको स्थापना कालदेखि संस्थालाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका अग्रज व्यक्तित्वहरूलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो । मिथिला–मैथिली अभियानलाई निरन्तर सशक्त बनाउँदै आएका अग्रज, संस्थाका मार्गदर्शक तथा सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ सक्रियताका साथ अभियानमा लागिरहन आग्रह गरिएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरूले मैथिली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै संस्थागत प्रयास, नयाँ पुस्ताको सहभागिता र सञ्चारमाध्यमको भूमिकाले अभियानलाई अझ बलियो बनाउने बताए । मिनापको तेस्रो पुस्तासम्म संस्थागत निरन्तरता कायम रहनु मिथिला सांस्कृतिक अभियानका लागि सकारात्मक सन्देश भएको उनीहरूको भनाइ थियो ।

साधारणसभामा आगामी कार्ययोजना, संगठन विस्तार, युवा पुस्तालाई संस्कृतिसँग जोड्ने कार्यक्रम तथा मैथिली नाट्य, साहित्य र लोककलाको प्रवर्द्धनका विषयमा समेत छलफल गरिएको थियो । सहभागीहरूले मिनापले विगत ४६ वर्षदेखि निरन्तर रूपमा मिथिला–मैथिली अभियानलाई जीवित राख्दै आएको भन्दै प्रशंसा गरेका छन् ।

मिनापको नयाँ नेतृत्वले संस्थालाई अझ सुदृढ, समावेशी र सक्रिय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, मिथिला–मैथिली भाषा र संस्कृतिको गौरवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सबै मैथिल समुदाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिइएको छ ।