मिथिला नाट्यकला परिषद्को नेतृत्व सुनील मल्लिकलाई, १३ सदस्यीय नयाँ कार्यसमिति गठन

जनकपुरधाम, २७ मंसिर । मिथिलाको भाषा, कला र सांस्कृतिक पहिचानलाई सशक्त बनाउने उद्देश्यका साथ जनकपुरधामस्थित प्रतिष्ठित सांस्कृतिक संस्था मिथिला नाट्यकला परिषद्को नयाँ कार्यसमिति गठन गरिएको छ ।
गायक तथा संगीतकार सुनील कुमार मल्लिकको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएसँगै परिषद्ले मिथिलाको समृद्ध सांस्कृतिक विरासत संरक्षण तथा प्रवर्द्धनमा अझ सक्रिय भूमिका खेल्ने विश्वास गरिएको छ ।
शनिबार सम्पन्न परिषद्को बैठकबाट सर्वसम्मत रूपमा चयन गरिएको नयाँ कार्यसमितिले मिथिलाको भाषा, लोकनाट्य, संगीत तथा परम्परागत कलालाई आधुनिक समयसँग जोड्दै अगाडि बढाउने लक्ष्य लिएको बताइएको छ । साथै, परिषद्ले युवा प्रतिभालाई प्रोत्साहन गर्दै उनीहरूका सिर्जनालाई उचित मञ्च उपलब्ध गराउने तथा मिथिलाको सांस्कृतिक पहिचानलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने योजना अघि सारेको छ ।
नवगठित कार्यसमितिको अध्यक्षमा सुनील कुमार मल्लिक चयन भएका छन् । उपाध्यक्षमा रामनारायण ठाकुर र संगीता देव चयन भएका छन् भने महासचिवको जिम्मेवारी विष्णुकान्त मिश्रलाई दिइएको छ । सचिवमा धीरज ठाकुर र कोषाध्यक्षमा अनितारानी मण्डल चयन भएका छन् ।
यसैगरी कार्यसमितिका सदस्यहरूमा गंगाकान्त झा, चन्द्रशेखर यादव, मुकेश झा, मुकेश ठाकुर, सन्नी राउत, ध्रुव झा र इन्द्रेश मिश्र चयन भएका छन् । नयाँ नेतृत्वमा अनुभवी कलाकार र युवा सर्जकहरूको समिश्रण रहेकाले परिषद्को गतिविधि अझ प्रभावकारी र गतिशील हुने विश्वास गरिएको छ ।
कार्यसमिति गठनपछि आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष मल्लिकले मिथिलाको मौलिक कला र नाट्य परम्परा संरक्षण गर्नु आजको आवश्यकता भएको बताए । उनले बदलिँदो समयसँगै प्रविधि र नयाँ शैलीलाई आत्मसात् गर्दै परम्परागत नाट्यकला जोगाउने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले मिथिलाका कलाकारलाई एकताबद्ध गर्दै प्रशिक्षण, कार्यशाला, नाटक मञ्चन तथा सांस्कृतिक आदान–प्रदान कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए ।
परिषद्का पदाधिकारीहरूले पनि नयाँ कार्यसमितिको कार्यकालमा मिथिलाको सांस्कृतिक पहिचान थप मजबुत बनाउने, स्थानीय तहदेखि राष्ट्रिय मञ्चसम्म सांस्कृतिक कार्यक्रम विस्तार गर्ने तथा भावी पुस्तालाई मिथिलाको कला–संस्कृतिप्रति आकर्षित गर्ने योजना रहेको जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

