जनकपुरधाम, २७ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेशलाई सुशासनयुक्त, पारदर्शी र जनउत्तरदायी प्रदेशका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेश सभाबाट विश्वासको मत लिइसकेपछि अब कागजी प्रतिबद्धतामा सीमित नभई आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम अगाडि बढाइने स्पष्ट पारे ।

नेपाली कांग्रेस मधेश प्रदेशका सभापति समेत रहेका मुख्यमन्त्री यादवले प्रदेश सरकारको प्रभावकारिता जनताले महसुस गर्न नसकेसम्म लोकतन्त्रको सार्थकता पूरा नहुने उल्लेख गरे । ‘अब मधेश प्रदेशमा सरकार छ भन्ने अनुभूति जनताले सेवा, सुशासन र विकासका काममार्फत देख्न पाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि प्रशासनिक सुधारदेखि सेवा प्रवाहसम्म ठोस कदम चालिनेछ ।’

मुख्यमन्त्री यादवले प्रदेशमा सुशासन कायम गर्न प्रशासनिक पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, छिटोछरितो सेवा प्रवाह र जनउत्तरदायी शासन प्रणालीलाई सुदृढ बनाउनु अपरिहार्य रहेको बताए । यी लक्ष्य हासिल गर्न पार्टी पङ्क्ति एकताबद्ध भएर सरकारका निर्णय र कार्यक्रमको कार्यान्वयनमा साथ दिनुपर्नेमा उनको जोड थियो ।

बैठकमा उनले पार्टीको संगठनात्मक मजबुती र राजनीतिक स्थायित्व सुशासनको आधार हुने उल्लेख गर्दै आगामी केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई आ–आफ्नो क्षेत्रबाट व्यवस्थित, जिम्मेवार र सक्रिय रूपमा लाग्न निर्देशन दिए । पार्टीभित्र एकता, अनुशासन र समन्वय कायम राख्दै जनतासँगको सम्बन्ध अझ सुदृढ बनाउनु आजको आवश्यकता भएको उनको भनाइ थियो ।

मुख्यमन्त्री यादवले मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सामाजिक न्यायका क्षेत्रमा प्राथमिकताका साथ काम गरिने संकेत गर्दै प्रदेश सरकारको नीति तथा कार्यक्रम जनमुखी हुने दाबी गरे । उनले प्रदेश सरकार जनताको दैनिक जीवनसँग जोडिने सेवा र विकासका विषयमा केन्द्रित हुने बताउँदै परिणाममुखी कामबाट मात्रै जनविश्वास बढ्ने उल्लेख गरे ।

नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको बैठकमा सहभागी नेताहरूले समेत सुशासन, विकास र संगठन सुदृढीकरणलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए ।