बढ्दो मानसिक तनाव न्यूनीकरणका लागि जीवन जीउने कलाको प्रशिक्षण अपरिहार्य

जनकपुरधाम, २७ मंसिर । बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या तीव्र रूपमा बढ्दै गएको भन्दै शान्ति, स्वास्थ्य र समग्र प्रगतिका लागि ‘जीवन जीउने कला’ सम्बन्धी प्रशिक्षण हरेक नागरिकका लागि आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन् ।
आर्ट अफ लिभिङ्ग संस्थाको आयोजनामा युवाहरूका लागि सञ्चालन गरिएको एक साताव्यापी प्रशिक्षण कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोहमा बोल्ने वक्ताहरूले नेपालसहित विश्वभर विभिन्न सामाजिक, आर्थिक र मानसिक कारणले मानिसहरू तनावग्रस्त बन्दै गएको उल्लेख गर्दै यस्तो अवस्थामा आत्मिक शान्ति, सकारात्मक सोच र जीवनप्रति सन्तुलित दृष्टिकोण विकास गर्न जीवन जीउने कलाको प्रशिक्षण अत्यन्त महत्वपूर्ण हुने बताएका हुन् ।
समारोहका प्रमुख अतिथि उच्च अदालत जनकपुरधामका मुख्यन्यायाधीश टेक नारायण कुँवरले जीवन जीउने कलाको अभ्यास हरेक पेशा र क्षेत्रका व्यक्तिका लागि आवश्यक रहेको बताए । विशेषगरी न्याय क्षेत्र अत्यन्तै संवेदनशील र दबाबयुक्त हुने भएकाले न्यायाधीश तथा कानुनी पेशामा संलग्न व्यक्तिहरूले समेत यस्तो प्रशिक्षण लिनु जरुरी रहेको उनको भनाइ थियो । मुख्य न्यायाधीश कुँवरले समाजमा संस्कृति र संस्कारमा क्षयीकरण देखिन थालेको उल्लेख गर्दै त्यसको पुनस्र्थापनाका लागि आर्ट अफ लिभिङ्गजस्ता संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए ।

मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवले पछिल्लो अध्ययनअनुसार विश्वको करिब ३० देखि ४० प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको मानसिक समस्याबाट प्रभावित रहेको जानकारी दिए । नेपालमा पनि झण्डै ३० प्रतिशत जनसंख्यामा मानसिक समस्या रहेको उल्लेख गर्दै उनले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर सचेतना, प्रशिक्षण र व्यवहारिक अभ्यास आवश्यक भएको बताए । जीवन जीउने कलाले तनाव व्यवस्थापन, आत्मविश्वास र मानसिक सन्तुलन कायम गर्न सहयोग पुर्याउने उनको भनाइ थियो ।
आर्ट अफ लिभिङ्गका नेपाल कोर्डिनेटर देविका साहले संस्था विश्वका १८० भन्दा बढी मुलुकमा सक्रिय रूपमा काम गरिरहेको जानकारी दिँदै मानव जीवनमा देखिएको तनाव घटाई अनुहारमा मुस्कान ल्याउने उद्देश्यका साथ संस्थाले ध्यान, योग, श्वास–प्रश्वास र जीवन कौशलसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताइन् । उनले समाजमा शान्ति र सकारात्मक ऊर्जा फैलाउन सबैको सहकार्य आवश्यक रहेको पनि उल्लेख गरिन् ।
कार्यक्रम आर्ट अफ लिभिङ्ग जनकपुरधामका अध्यक्ष अमरनाथ गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय कोर्डिनेटर इन्जिनियर किशोर झा, प्रशिक्षक सुधिर कुमार ठाकुर, सुरेन्द्र महतो तथा प्रशिक्षणमा सहभागी अंशु कुमारी मुरारका, प्रीति गुप्तालगायतले जीवन जीउने कलाको अनुभव र यसको प्रभावबारे आफ्ना धारणा राखेका थिए ।

यसै अवसरमा आर्ट अफ लिभिङ्ग संस्थालाई जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ वेङ्गाशिवपुरमा करिब १ करोड रुपैयाँ मूल्य बराबरको ३ कठ्ठा जग्गा दान गर्ने जग्गादाता उमेश कुमार यादव र उनका छोरा तथा मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रमका वक्ताहरूले मानसिक स्वास्थ्यलाई व्यक्तिगत मात्र नभई सामाजिक र राष्ट्रिय सरोकारको विषयका रूपमा लिँदै जीवन जीउँने कलाजस्ता प्रशिक्षणलाई विद्यालय, कलेज, कार्यालय तथा समुदाय तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

