‘धान काट्ने हातको अश्रुपूर्ण आँखा’

–ज्योति झा
जनकपुरधाम, २५ मंसिर । देशको विकासका कुरा सबैले गर्छन् । तर, विकासको आधार मानिने गास, बास र कपास अझै आम नागरिक, विशेषगरी किसान र श्रमिक वर्गका लागि सुनिश्चित भएको छैन ।
जनकपुरधामकी ३५ वर्षीया प्रवीण (नाम परिवर्तन)को जीवनकथा सुन्दा यही यथार्थ झल्किन्छ । यो व्यक्तिगत पीडा मात्र नभई हजारौँ कृषक परिवारको साझा संघर्ष हो ।
प्रवीण भन्छिन्, ‘एक कठ्ठा धान काटेर भित्र्याउँदा ५०० रुपैयाँ ज्याला पाइन्छ । बिहान ९ बजेदेखि साँझ ४–५ बजेसम्म घाम, धुलो, पसिना सबै सहनुपर्छ ।’

तर, महँगीका कारण यो ज्याला दैनिक आवश्यकतामा अपुग छ । चामल, दाल, तेलदेखि लिएर किताब, औषधि सबै महँगो भएको अवस्थामा न्यून ज्याला पाउने किसानका दिन वित्नै गाह्रो छ ।
प्रवीणका श्रीमान वैदेशिक रोजगारीमा थिए । उनीहरूको पारिवारिक जीविका, बच्चा र घर धान्ने जिम्मेवारी विदेशबाट आएको आम्दानीमा निर्भर थियो । तर, श्रीमान बिदेशमै बिते । एक हप्तापछि मात्र शव घर ल्याइयो ।
शोक अझै नपोखिनु अघि परिवारभित्र व्यवहार परिवर्तन भयो । सासु–ससुरा र देवर, नातेदार सबै टाढा भए । पैसाका कारण विवाद बढ्यो र प्रवीण बच्चासहित एक्लै बस्न बाध्य भइन् ।
उनको नियमित आम्दानी मात्र ८ हजार रुपैयाँको पेन्सन हो । बाँकी खर्च उनले अरूको खेतमा काम गरेर चलाइरहेकी छन् ।

तीन छोराछोरी छन् । जेठो १२ वर्षको, सरकारी विद्यालयमा पढ्छ । प्रवीण भन्छिन्, ‘कपी, कलम त किन्नै पर्छ । दिनभरी काम गर्छु, राति डर, चिन्ता र थकान मात्र हुन्छ ।’
देशका अधिकांश कृषकहरूको हातमा जमीन भए पनि सानो वा अन्यको भूमिमा काम गर्ने बाध्यता छ । रोपाइँ अर्काको, काटाइ अर्काको, तर उपभोग र कमाइ भूमिस्वामीकै । मेहनत गर्ने थाक्छ, मालिक मौज गर्छ । यही छ वर्तमान कृषि संरचनाको कठोर यथार्थ ।
‘महँगाई आकाशमा पुगेको छ, आम्दानी जमिनमा । हामी खेतमा पसिना बगाउँछौँ । तर, बाँच्नै धौ–धौ छ । सरकार र जनप्रतिनिधि भने तलब, सुविधा र भत्ताले अगाडि छन्,’ प्रवीण भन्छिन् ।
देश आज पनि मुख्यतः रेमिट्यान्समा चलिरहेको छ । युवाले विदेशमा पसिना बगाउँछन् । तर, किसानको खेतमा बगाएको पसिना मूल्यविहीन रहन्छ ।
गाउँमा विकासको नाममा केही देखिँदैन । नेता र पदाधिकारीहरूको व्यक्तिगत विकास भने घर, गाडी, भवन सुविधासहित दिनदिनै देखिन्छ । चुनाव आउँदा भोट माग्न किसानको खेतमा फोटो खिचिन्छ । तर, किसानको जीवनमा उज्यालो कहिल्यै पर्दैन ।

प्रवीण जस्ता हजारौं महिलाहरू किसानको पीडा अर्थात कडा श्रम, न्यून ज्याला, अनिश्चित भविष्य र महिला भएको पीडा अर्थात परनिर्भरता, श्रीमानको मृत्युपछि सामाजिक एक्लोपन, आर्थिक जिम्मेवारीको बोझलगायत दुई मोर्चामा लडिरहेका छन् ।
देशका नीतिनिर्माताले विकासको भाषण गर्दा किसान अझै झुपडीको छानो समातेर पानी रोकिरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

