नक्कली कागजात बनाएर सरकारी जग्गा हडप्ने अभियुक्त कारागार चलान

रौतहट, २५ मंसिर । सरकारी जग्गालाई नक्कली कागजातका आधारमा हडप्ने प्रयास गरेको आरोपमा पक्राउ परेका गुजरा नगरपालिका–४ कनकपुर टोलका ५८ वर्षीय शेख मेराजुललाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार नेपाल सरकारको नाममा दर्ता रहेको ११ बिघा ७ कट्ठा १५ धुर जमीन किर्ते कागजात बनाएर लालपुर्जा निकालिएको उजुरीका आधारमा मेराजुलविरुद्ध अनुसन्धान भइरहेको थियो ।
काठमाडौँस्थित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो लगायतका निकायबाट दर्ता गरिएको जाहेरीका आधारमा मेराजुलसहितका प्रतिवादीले सरकारी नाममा रहेको जग्गामा किर्ते लालपुर्जा बनाइ भूमिकर रसिद तथा चारकिल्ला प्रमाणित गराएर व्यक्तिका नाममा दर्ता गराएको आरोप लागेको प्रहरीको भनाइ छ ।
फरार रहेका मेराजुललाई रौतहट प्रहरीले मंसिर १२ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालयले अनुसन्धान पूरा गरी उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरेपछि अदालतले पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो ।
सरकारी जग्गा किर्ते प्रकरणमा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

