सात महिनादेखि तलब नपाएका सरसफाइकर्मी आन्दोलित

महोत्तरी, २५ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिकामा दैनिक ज्यालादारीमा काम गर्दै आएका सरसफाइकर्मी सात महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रिएका छन् ।
बुधबारदेखि नियमित सरसफाइ कार्य रोक्दै उनीहरूले नगरका सडक, चोक र बजार क्षेत्रमा फोहोर संकलन गर्न अस्वीकार गरेपछि शहरमै फोहोर थुप्रिँदै जाने अवस्था बनेको छ ।
सफाइकर्मीहरूका अनुसार चालु आर्थिक वर्षका पाँच महिना र अघिल्लो वर्षका दुई महिना गरेर कूल सात महिनाको तलब नपाएपछि उनीहरूलाई आन्दोलनबाहेक विकल्प बाँकी रहेन ।
एक कर्मचारीले भने, ‘घर चलाउन समस्या भएको छ । महिनौँदेखि पैसा नपाएर ऋणमा गुजारा चलाइरहेका छौँ । अब तलब नदिए आन्दोलन अझ कडा हुन्छ ।’
फोहोर सडकमा छाड्ने असहयोग आन्दोलनका कारण नगरको दैनिक सरसफाइ व्यवस्था ठप्प छ । बजार क्षेत्रदेखि मुख्य सडकसम्म फोहोरका थुप्रो देखिन थालेका छन् । यसले स्वास्थ्य जोखिम पनि बढाएको स्थानीयवासीहरूको गुनासो छ ।
जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले सरसफाइकर्मीहरूले तलबबाहेक केही अतिरिक्त माग राखेपछि असहयोग देखिएको दाबी गरे ।
उनले भने, ‘तलब दिन अवरोध गर्ने प्राविधिक समस्या अन्त्य भइसकेको छ । पालिकाले नियमअनुसार जायज माग पूरा गर्छ ।’
नगरप्रमुख सोनारका अनुसार आन्दोलनका बीच पनि नगरका स्थायी कर्मचारीलाई सरसफाइमा खटाइएकाले फोहोर संकलन पूर्ण रूपमा बन्द नहुने बताए । तर, दैनिक सरसफाइका मुख्य काम दैनिक ज्यालादारी कर्मचारीमै निर्भर हुने भएकाले काम प्रभावित हुन जारी रहेको छ ।
स्थानीयवासीहरूले सरसफाइ सेवा अवरुद्ध हुँदा बजार क्षेत्र दुर्गन्धित बन्दै गएको बताउँदै नगरपालिकाले छिटो समाधान खोज्नुपर्ने माग गरेका छन् ।
एक व्यापारीले भने, ‘फोहोर उठ्ने काम रुक्दा व्यापारमा पनि असर परेको छ । नगरपालिकाले कर्मचारÞीलाई तलब दिएर तत्काल काम सुरु गराउनु पर्छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

