मधेश प्रदेशमा खाद्य सुरक्षामै संकट

जनकपुरधाम, २५ मंसिर । नेपालकै अन्न भण्डार मानिने मधेश प्रदेश यस वर्ष लगातारको विपद्को मारमा परेको छ ।
गत कार्तिक महिनाको बेमौसमी वर्षाले महोत्तरीका किसानको महिनौँको परिश्रम खेतमै गलेर नष्ट भएको छ । असारमा खडेरी, त्यसपछि डुबान र अन्त्यमा झरी लगातारका प्राकृतिक प्रहारले किसानहरूको जीवनयापन संकटमा धकेलिएको छ ।
महोत्तरीका किसान अहिले धमाधम धान भित्र्याइने समयमा छन् । तर, कार्तिकको अनाहक वर्षाले धान पाकिसकेको अवस्थामा पानी जम्दा खेतमै गल्ने स्थिति सिर्जना भयो ।
किसान राजकुमार मण्डल भन्छन्, ‘धान पाकेको थियो, भित्र्याउने तयारीमै थियौँ । पानी परेपछि खेतमा नै लडेर बिग्रियो । यसपालि वर्षभर कसरी गुजारा चलाउने हो, थाहा छैन ।’
बेमौसमी वर्षाले धानसँगै तरकारी, दलहन, तेलहन, आलु जस्ता नगदे बालीमा समेत ठूलो क्षति पुर्याएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।
प्रवक्ता अविरल महतोका अनुसार खडेरीका कारण ४० हजार ३२१ हेक्टर धानयोग्य जमिनमध्ये मात्र ३० हजार हेक्टरमा मात्र रोपाइँ सम्भव भयो ।
त्यसपछि आएको झरी र डुबानका कारण जम्मा २४ हजार हेक्टरमा मात्र ७४ हजार ८८० मेट्रिक टन धान उत्पादन हुन सकेको छ ।
गत वर्ष महोत्तरीमा १ लाख २४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष २०–२५ प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ ।
बेमौसमी वर्षाले महोत्तरीमा मात्र ९६ करोड रुपैयाँभन्दा बढी क्षति पुर्याएको छ । धानबालीमा आएको क्षतिको भर्पाइ किसानले नगदे बालीमार्फत पुनःस्थापना गर्न सक्ने भन्दै मनराशिस्वा नगरपालिका किसानलाई प्रोत्साहन गरिरहेको नगरप्रमुख मोहन पाण्डेले बताए ।
उनका अनुसार धानमा घाटा परेपछि किसान नगदे बालीतिर आकर्षित हुन थालेका छन् । नगरपालिका तर्फबाट बिउ, प्रविधि र ब्यवस्थापनमा सहयोग गरिँदैछ ।
नेपालका सातवटै प्रदेशमध्ये मधेश प्रदेशको कृषि उत्पादनमा योगदान सबैभन्दा ठूलो रहँदै आएको छ । तर, दुई वर्षयता लगातारको विपतले प्रदेशको खाद्य सुरक्षा नै जोखिममा पारेको कृषि विज्ञहरूको चेतावनी छ ।
मधेश प्रदेशलाई सरकारले ‘विपद्–संकटग्रस्त क्षेत्र’ घोषित गरे पनि किसानले अझैसम्म राहत पाएको छैनन् । किसानहरूले सरकारसँग तत्काल क्षतिको मूल्यांकन, राहत प्याकेज, बीउ–बिजन सहयोग र राहत कर्जा व्यवस्थापन गर्न आग्रह गरेका छन् ।
महोत्तरीका किसान धर्मनाथ यादव भन्छन्, ‘सुनिन्छ–सरकारले राहत दिन्छ रे । तर, रोल्पा पुगेर फर्के जस्तो छ । कहिले आउँछ, पत्तो छैन ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

