सर्लाही, २५ मंसिर । सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कौडेना गाउँपालिका–५ छपकैया बस्ने ३० वर्षीय फिरोज खान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिमरा फेन्हारबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेका खानलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो ।

अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार खानको साथबाट सो नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार भारततर्फबाट नेपाल भित्र्याइएका ती नोटहरू स्थानीय क्षेत्रमा परिचालित हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयले नक्कली नोट प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको जानकारी दिएको छ ।