मानव अधिकार दिवसको अवसरमा बृहत् र्याली

सप्तरी, २५ मंसिर । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सप्तरीको सदरमुकाम राजविराजमा बृहत् र्याली निकालिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश तथा विभिन्न संघसंस्थाहरूको संयुक्त आयोजनामा भएको र्यालीले घरेलु हिंसा अंत्य र मानव अधिकार संवद्र्धनका लागि राज्य तथा समाज दुवै तहमा जागरुकता आवश्यक रहेको सन्देश दिएको छ ।
यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवस ‘घरघरबाट सुरु गरौँ, घरेलु हिंसा अन्त्य गरौँ, मानव अधिकारको रक्षा गरौँ’ भन्ने नारामार्फत समाजमा बढ्दो लैङ्गिक हिंसा, विभेद र मानव अधिकार उल्लंघनका घटनाबारे सबैलाई संवेदनशील बनाउनुपर्ने आवश्यकता उठाइयो ।
र्यालीमा सहभागीहरूले प्लेकार्ड, ब्यानर र मानव अधिकारसम्बन्धी झाँकी गर्दै सामाजिक न्याय, समानता, हिंसा रोकथाम, शान्ति र सुशासनका माग राख्दै राजविराज बजार क्षेत्रको परिक्रमा गरे ।
शिव मन्दिरबाट सुरु भएको र्याली जिल्ला प्रशासन कार्यालय, खानेपानी कार्यालय, महावीर चौक, गजेन्द्र चौक, दशन चौक, राममन्दिर, अदालत रोड हुँदै नगरपालिका रोडमार्ग भएर नेपाल पत्रकार महासंघ राजविराज शाखा कार्यालयमा पुगेर समापन भयो ।

र्यालीको उद्देश्य मानव अधिकारका मुद्दामा सर्वसाधारणको पहुँच बढाउनु, समुदायमा हुने हिंसा तथा विभेदनका घटनामा समाजलाई संवेदनशील बनाउनु र राज्यका निकायहरूलाई दायित्वबोध गराउनु रहेको इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले बताए ।
उनले भने, ‘मानव अधिकार दिवस केवल औपचारिक कार्यक्रम होइन । नागरिकको मर्यादा, स्वतन्त्रता र सुरक्षासँग जोडिएको विषय भएकाले सबै तहमा उत्तरदायीत्वपूर्ण व्यवहार आवश्यक छ ।’
र्यालीमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, प्रमुख जिल्ला अधिकारी टुवराज पौडेल, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरू, विभिन्न गैरसरकारी संस्थाका पदाधिकारी, सुरक्षाकर्मी, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

सहभागीहरूले मानव अधिकार उल्लंघन हुने घटनासँग प्रत्यक्ष सरोकारवाला समुदाय अझै पनि कमजोर अवस्थामा रहेको भन्दै नीति निर्माण निकायलाई व्यवहारिक सुधारतिर ध्यान दिन आग्रह गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

