सिमान्तकृत समुदायको प्रतिनिधित्वका लागि तीन दल एक ठाउँमा

जनकपुरधाम, २४ मंसिर । देशमा उत्पन्न राजनीतिक जटिलता, शासन प्रणालीमा बढ्दो अव्यवस्था, भ्रष्टाचार र बेथितिको अन्त्य गर्दै समावेशी र उत्तरदायी शासन निर्माण गर्न तीन मधेशवादी दलहरू एकजुट भएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), जनता प्रगतिशील पार्टी (जप्रपा) र तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) एकीकृत भएर नयाँ राजनीतिक शक्ति निर्माण गर्ने निर्णयमा पुगेका छन् ।
तीन दलका अध्यक्षहरू महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लालद्वारा संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा देशलाई स्थिरता, सुशासन र समान नागरिक अधिकारसहितको वास्तविक राष्ट्रिय एकताको मार्गमा लैजान ताजा जनादेशसहितको आम निर्वाचन अब अपरिहार्य बनेको उल्लेख छ ।
संयुक्त विज्ञप्तिमा राज्यका सबै निकायमा समानुपातिक समावेशिता, विविधताको सम्मान र समान नागरिक अधिकारलाई संस्थागत गर्न राजनीतिक एकता अपरिहार्य भएको निष्कर्ष निकालिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै सिमान्तिकरणमा पारिएका समुदायहरूको राजनीतिक सशक्तिकरणका लागि एकीकृत मधेशवादी मोर्चा आवश्यक भएको स्पष्ट देखिन्छ ।’
तीन दलले आफूहरूबीचको एकताले मधेश, थरुहट, आदिवासी जनजाति, दलित, मुस्लिम तथा अन्य उपेक्षित समुदायको आवाजलाई केन्द्रमा ल्याउने दाबी गरेका छन् ।
नवगठित शक्ति निर्माण अभियानमा मधेश, थरुहट तथा अन्य पहिचानका राजनीतिक संगठन, स्वतन्त्र व्यक्तित्व र नागरिक समाजका प्रतिनिधिहरूलाई सहभागी हुन तीन दलले खुलेर आह्वान गरेका छन् । दलहरूले यसलाई वृहद् मधेशीय एकता निर्माणको ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन् ।

विगतका सरकारहरूबाट सुशासन स्थापना गर्न नसकिएको, भ्रष्टाचार नियन्त्रणमा असफलता र राजनीतिक अस्थिरताले देशमा गम्भीर असन्तुष्टि बढेको मूल्यांकन गर्दै दलहरूले ताजा जनादेशसहितको आम निर्वाचन नै अबको एक मात्र समाधान भएको बताएका छन् ।
संयुक्त वक्तव्यमा भनिएको छ, ‘देशको दीर्घकालीन स्थिरता, विकास र समृद्धिको मार्ग अवरुद्ध भइरहेको छ । पुनः विश्वासको म्यान्डेट लिन आम निर्वाचन अब अनिवार्य छ ।’
तीन नेताले नयाँ राजनीतिक एकताको खाका चाँडै सार्वजनिक गर्ने र संरचना तथा कार्यविधि अन्तिममा पुर्याउने तयारी भइरहेको जनाएका छन् ।
मधेश केन्द्रित राजनीतिक दलहरूको विखण्डनले पछिल्ला केही वर्षमा मधेशी जनताको मुद्दा कमजोर बन्दै गएको छ । यस पृष्ठभूमिमा यो एकता आगामी संघीय तथा प्रदेश चुनावको सन्दर्भमा निर्णायक मोड मानिएको छ ।
मधेशमा जातीय, सांस्कृतिक विविधता र राजनीतिक असन्तुष्टि दुवै उच्च रहेको वर्तमान अवस्थालाई ध्यानमा राख्दै यस्तो एकताले नयाँ राजनीतिक ध्रुवीकरण जन्माउन सक्ने अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

