तमलोपा निर्वाचनमा सहभागी हुने, आयोगमा आधिकारिक रूपमा दल दर्ता

जनकपुरधाम, २३ मंसिर । आगामी राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा समानुपातिक निर्वाचन प्रक्रियामा सहभागिता जनाउन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले निर्वाचन आयोगमा औपचारिक रूपमा दल दर्ता गराएको छ ।
पार्टीका केन्द्रीय सदस्य उमेश मण्डलले दर्ता प्रक्रिया सम्पन्न भइसकेको पुष्टि गर्दै तमलोपाले राष्ट्रव्यापी निर्वाचन प्रतिस्पर्धा सुरू गर्ने तयारी पूरा गरेको बताएका छन् ।
मण्डलका अनुसार पार्टीले तीनै तहका निर्वाचनमा उपस्थिति जनाउँदै सशक्त मधेशवादी विकल्प प्रस्तुत गर्ने रणनीति बनाएको छ । उनले मधेशका मुद्दा, पहिचान र अधिकारका प्रश्नलाई वैचारिक आधार बनाउँदै आएको तमलोपा पुनः सक्रिय बन्दै निर्वाचनमा सहभागी हुने बताए ।
मण्डलका अनुसार पार्टीको प्रमुख एजेन्डा मधेशी जनताको राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्नेमा केन्द्रित हुनेछ । ‘हामी संघीयता, समावेशिता र मधेशको स्वाभिमानका मुद्दामा स्पष्ट र दृढ छौँ,’ उनले भने, ‘निर्वाचनमा सहभागी भएर देशव्यापी रूपमा मधेशको आवाज उठाउनेछौँ ।’
तमलोपा नेतृत्वले निर्वाचनका लागि संगठन विस्तार, उम्मेदवार छनोट, अभियान सञ्चालन र स्थानीय संरचना सक्रियताबारे छिट्टै विस्तृत योजना सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
निर्वाचन आयोगमा दल दर्ता भएपछि तमलोपा अब निर्वाचन चिह्न, समानुपातिक सूचि र उम्मेदवार मनोनयन प्रक्रियामा सहभागी हुन पाउनेछ । पार्टी दर्ताले मधेश केन्द्रित राजनीतिमा फेरि एउटा नयाँ विकल्प सक्रिय भएको छ ।
मण्डलले दल दर्ता केवल प्रशासनिक प्रक्रिया नभई जनताको म्यान्डेट लिन राजनीतिक मैदानमा फर्किएको घोषणा भएको बताए । उनका अनुसार पार्टीले मधेशका अधिकार आन्दोलनमा टेकेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने लक्ष्य राखेको छ ।
दल दर्तासँगै तमलोपाले कार्यकर्ता परिचालन तीव्र बनाउने जनाएको छ । मधेशमा आगामी निर्वाचन पूर्व राजनीतिक प्रतिस्पर्धा चर्को बन्दै गएको बेला तमलोपा सक्रिय रूपमै मैदानमा उत्रिन लागेको देखिन्छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

