जनकपुरधाम, २३ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर ३ ले पूर्वउपसभापति विमलेन्द्र निधिको एकल नाम सिफारिस गरेको छ ।

क्षेत्रीय समिति र विस्तारित बैठक दुवैले सर्वसम्मत रूपमा निधिलाई क्षेत्रको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा अघि सारेपछि उनको उम्मेदवारी पार्टीभित्र लगभग सुनिश्चित भएको छ ।

क्षेत्रीय सभापति धिरेन्द्रकुमार निधिका अनुसार क्षेत्रीय समितिको बैठकले सर्वसम्मत निर्णय गर्दै निधिको एकल नाम जिल्ला कार्यसमितिमा पठाइसकेको छ । ‘धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यका लागि विमलेन्द्र निधिजीको एकल नाम सिफारिस भएको छ,’ सभापति निधिले भने ।

यसअघि आइतबार बसेको नेपाली कांग्रेस धनुषा–३ को विस्तारित बैठकले पनि प्रत्यक्षतर्फका उम्मेदवारका लागि निधिलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त बैठकमा स्थानीय नेतृत्वदेखि केन्द्रीय प्रतिनिधिसम्मको सक्रियता देखिएको थियो ।

बैठकमा पूर्वसांसद स्मृतिनारायण चौधरी, प्रदेश सांसद रामसरोज यादव, जिल्ला सभापति योगेन्द्र पजियारसहित विभिन्न तहका नेताहरूले भाग लिएका थिए । सबैले निधिलाई आगामी निर्वाचनका लागि सबैभन्दा उपयुक्त र विजयी सम्भावना भएका उम्मेदवारका रूपमा प्रस्तुत गरिएको बैठकमा सहभागीहरूले बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले केही दिनअघि नै सबै जिल्लालाई उम्मेदवार सिफारिसका लागि परिपत्र पठाएको थियो । सो परिपत्रअनुसार एक निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ अधिकतम तीन (एक महिला अनिवार्य) र समानुपातिकतर्फ अधिकतम दुई (एक महिला अनिवार्य) नाम सिफारिस गर्न भनिएको छ ।

धनुषा–३ ले अहिले प्रत्यक्षतर्फको सिफारिस मात्र पूरा गरेको छ भने समानुपातिकतर्फका नाम दर्ता अझै हुन बाँकी रहेको बताइएको छ ।

समानुपातिकको सिफारिसमा प्रफुलराज घिमिरे, रामानन्द चौधरी (ललन), उर्मिला यादवलगायत नेताहरूको नाम अगाडि आउने सम्भावना रहेको कांग्रेस स्रोतहरूले जनाएका छन् ।

विमलेन्द्र निधि कांग्रेसको केन्द्रीय राजनीतिमा दीर्घ अनुभव राख्ने नेता हुन् । पार्टी उपसभापति, मन्त्रीस्तरका जिम्मेवारी, संघीय निर्वाचनमा उमेदवारीका अनुभव र धनुषा–३ मा बलियो संगठनात्मक आधारका कारण निधि यस क्षेत्रका ‘सर्वसम्मत उम्मेदवार’ बन्न सफल भएको स्थानीय नेताहरूको भनाइ छ ।

कांग्रेसभित्र निधिको एकल नाम सिफारिस हुनु मधेश प्रदेशको मुख्य चुनावी भिडन्तमा उनी एक प्रमुख प्रतिस्पर्धीका रूपमा उभिन सक्ने संकेत मानिएको छ ।

क्षेत्रीय र विस्तारित बैठकको निर्णयपछि अब सिफारिस जिल्ला कार्यसमितिबाट प्रदेश हुँदै पार्टी केन्द्रीय कार्यसमितिमा जानेछ । अन्तिम उम्मेदवारको टुंगो भने केन्द्रीय समिति नै गर्नेछ ।