जनकपुरधाम, २३ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै धनुषा जिल्लाभरिका मतदान स्थल र केन्द्रहरूको विस्तृत स्थलगत अनुगमनका काम तीव्र गतिमा भइरहेको मधेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ ।

निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र सहज वातावरणमा सम्पन्न गर्न मतदाताका लागि आवश्यक पूर्वाधार, भौतिक अवस्था तथा सुरक्षा व्यवस्थाको मूल्यांकन गरिँदैछ । कम्प्युटर अधिकृत कृष्ण राउतका अनुसार अनुगमन टोलीले विभिन्न मतदान स्थलमा देखिएका कमी कमजोरीको पहिचान गर्दै तत्काल समाधान हुनसक्ने विषयमा प्रदेश र स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ ।

धनुषाका १८ स्थानीय तहमा ३२२ मतदान स्थल र ६०५ मतदान केन्द्र रहेको कार्यालयका शाखा अधिकृत प्रवेश दुलालले जानकारी दिए । उनका अनुसार सबै मतदान स्थलको प्रत्यक्ष अवलोकनपछि विस्तृत प्रतिवेदन तयार पारिनेछ । त्यसको आधारमा आवश्यक सुधारका निर्णय हुनेछन् ।

अनुगमनका क्रममा केही मतदान केन्द्रमा कम्पाउन्डवालको अभाव, भौतिक संरचना जीर्ण, पहुँचमार्ग कमजोर र सुरक्षा तयारी अपर्याप्त जस्ता समस्या फेला परेको निर्वाचन कार्यालयले जनाएको छ । यस्ता विषयमा आवश्यक निर्णयका लागि प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिइँदैछ ।

त्यसैगरी, मतदाता नामावलीसम्बन्धी त्रुटि तथा आवश्यक संशोधन कार्य निरन्तर जारी रहेको जनाइएको छ । निर्वाचन आयोगका सबै कार्यालयमा अद्यावधिक प्रक्रिया मंसिर २७ गतेसम्म चल्नेछ ।

निर्वाचन नजिकिँदै जाँदा धनुषामा पूर्वाधार, सुरक्षा र मतदाता व्यवस्थापनको समन्वयमा प्रशासन सक्रिय रूपमा जुटिरहेको छ ।