रोशनी झा हत्या काण्ड : किटानी आरोपित थप दुईजना पक्राउ, सिआईबीद्वारा तीव्र छानबिन सुरु

जनकपुरधाम, २३ मंसिर । जनकपुरधामकी रोशनी झाको मृत्यु प्रकरणलाई हत्या भएको भन्दै उठेको आन्दोलनबीच किटानी जाहेरीमा नाम रहेका थप दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेशबहादुर बमका अनुसार जनकपुरधाम–३ देवान पोखरीका ४५ वर्षीय सच्चिन झा र उनका १५ वर्षीय छोरा –(नावालक रहेकोले नाम गोप्य) लाई मंगलबार पक्राउ गरिएको हो ।
पीडित परिवारले दिएको किटानी जाहेरीपछि केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले छानबिन थालेलगत्तै केही घण्टामै उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
यसअघि नै मृतक रोशनीका पति प्रशान्त मिश्र पक्राउ परिसकेका छन् । किटानी जाहेरी दर्ता भएको एक सातापछि मात्र प्रहरीले प्रशान्त मिश्रका भिनाजु र भान्जालाई पक्राउ गरेको थियो ।
रोशनीकी आमा वेवी देवी झा, दाइ मनिष कुमार झा र माइजु रजनी झालगायतले पत्रकार सम्मेलनमार्फत सिआईबीद्वारा निष्पक्ष छानबिनको माग गरेपछि प्रहरीले सक्रियता बढाएको हो ।
माग उठेको २४ घण्टा नबित्दै सिआईबीले रोशनी झा काण्डमा औपचारिक अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।
रोशनीको मंसिर १२ गते रातिको मृत्युबारे माइतीपक्षले सामान्य मृत्यु नभई योजनाबद्ध हत्या भएको आरोप लगाउँदै निरन्तर आन्दोलन गर्दै आएका छन् । घटनापछि रोशनीको ससुरालीले कहिले भर्याङबाट लडेकी, कहिले आत्महत्या गरेकी भन्ने भिन्न भिन्न कथन दिएकोले शंका अझै गहिरिएको पीडित परिवारको दाबी छ ।
रोशनीका श्रीमान् प्रशान्त मधेश प्रदेश नीति तथा योजना आयोगमा शाखा अधिकृतका रूपमा कार्यरत छन् । माईती पक्षका अनुसार विवाहका बेला ९ लाख रुपैयाँ दाइजो दिइएको र पछि घर निर्माणका बहानामा १५ लाख रुपैयाँ थप मागिएको थियो ।
दुई नाबालक सन्तानकी आमा रोशनीको शंकास्पद मृत्यु महिला हिंसाविरुद्ध १६ दिने अभियानकै बीच परेकाले घटना देश विदेशमा चर्को आलोचना र सरोकार उत्पन्न भएको छ ।
छानबिन सिआईबीमा पुगेसँगै रोशनी झा हत्या काण्ड अब निर्णायक मोडमा प्रवेश गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

