जनकपुरधाम, २३ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदभार ग्रहणलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

मंगलबार दिउँसो देउवा निवासमा भएको भेटमा यादवले सभापति देउवालाई मिठाइ खुवाउँदै धन्यवाद ज्ञापन गरेका हुन् ।

सात दलको गठबन्धनको समर्थनमा यादव मधेश प्रदेशको नेतृत्वमा पुगेका हुन् । कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा, एकीकृत समाजवादी र अन्य सांसद गरी ७७ जनाको साथ पाएपछि उनी मुख्यमन्त्री बनेका हुन् ।

यसअघि संविधानको धारा १६८(३) अनुसार ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बनेका थिए । गत मंसिर १७ गते यादवले राजीनामा दिएपछि धारा १६८(२) बमोजिम नयाँ सरकार गठन प्रक्रिया अघि बढेको हो ।