विषहरा पोखरीलाई पर्यटकीय गन्तव्य बनाउने अभियान

–ज्योति झा जनकपुरधाम, २३ मंसिर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित विषहरा पोखरीको संरक्षण, सौन्दर्यकरण र व्यवस्थापनका लागि स्थानीय एकजुट भएका छन् ।
मंगलबार आयोजित भेलामा स्थानीय बासिन्दादेखि नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र गुठी संस्थानका प्रतिनिधिहरूले दीर्घकालीन रूपमा विषहरा पोखरीलाई सुन्दर, स्वच्छ र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने साझा संकल्प व्यक्त गरेका छन् ।
विषहरा संरक्षण समितिका अध्यक्ष विजय झाले पोखरीको अस्तव्यस्त अवस्थाप्रति चिन्ता व्यक्त गर्दै वर्तमान समस्याहरू बेहोर्न स्थानीयले सहनु परेको बाध्यतालाई खुलाए । उनका अनुसार फोहोर पोखरीमै फ्याँक्ने, मरेका कुकुरसम्म यही पोखरीमा हालिने, सार्वजनिक शौचालय नहुँदा ट्वाइलेटकै पानी पोखरीमा मिसिने जस्ता समस्याले पोखरीको अस्तित्व संकटमा परेको छ ।
झाले भने, ‘पोखरी सौन्दर्यकरण र वातावरण संरक्षण हाम्रो सपना हो । तर, स्थानीय बासीको पीडा पनि छ । पिसाब फेर्ने ठाउँ छैन, शौचालय छैन । सार्वजनिक संरचना बिना व्यवस्थापन कठिन छ ।’
समितिले टोलबासी मिलेर प्लास्टिक निकाल्ने अभियान चलाइरहेको उल्लेख गर्दै उनले थपे, ‘उपमहानगरपालिकाले बोटबिरुवा दिएको छ, यसले व्यवस्थापन केही सहज भएको छ । तर, हाम्रो समितिमा कुनै स्रोत छैन, लेबर राख्न पनि पैसा छैन ।’
समितिले २७० थान बाँस मागेर पोखरी घेराबार गरेको बताउँदै उनले उपमहानगरपालिकाले सहयोग गर्ने आश्वासन दिएकोमा धन्यवाद व्यक्त गरे ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले विषहरा क्षेत्र केही वर्षअघिसम्म अपराध र असुरक्षाको घेरामा परेको स्मरण गर्दै भने, ‘यहाँ बस्ती हटाइयो, एकातिर प्रहरी, अर्कोतिर पाकेटमार बस्ने अवस्था थियो । अहिले धेरै सुधार भएको छ ।’
उनले पोखरीको वरिपरि दुई मिटर खाली छोडेर पार्क र गार्डेन निर्माण गर्ने योजना सार्वजनिक गरे । साहले चेतावनी दिँदै भने, ‘फोहोर फ्याँक्नेलाई कर लगाइन्छ । हाम्रो उपमहानगरसँग ट्र्याक्टर र ड्राइभर छ, व्यवस्थापन हामी गर्छौं । तर, जनता आफैँ जागेनन् भने सरकार मात्रले केही गर्न सक्दैन ।’
साहका अनुसार टोलमा दुई मिटर फुटपाथ बनाइने, पोखरी संरक्षण समितिलाई औपचारिक रूपमा सहयोग गरिने र संरचनात्मक सुधार तिव्र गतिमा अघि बढाइनेछ ।
गुठी संस्थानका प्रमुख आनन्द शर्माले पोखरीको ऐतिहासिक नक्सा अनुसार ५०५ वर्गफुट क्षेत्र संरक्षण समितिलाई दिने निर्णय सुनाए । उनका अनुसार पोखरी संरक्षण, घेराबार र व्यवस्थापनका लागि समितिले दीर्घकालीन अधिकारसहित काम गर्न पाउनेछ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक रुगम बहादुर कुँवरले पोखरी क्षेत्रलाई स्वच्छ, सुरक्षित र आकर्षक पर्यटकीय स्थल बनाउन प्रहरीको तर्फबाट पूर्ण सहयोग हुने बताए ।
उनले गुठी, उपमहानगर र संरक्षण समितिबीच आर्थिक तथा प्राविधिक समन्वय आवश्यक रहेको उल्लेख गर्दै लाइटिङ, सुरक्षा र सरसफाइका कामलाई प्राथमिकता दिन आग्रह गरे ।
जनकपुरधाम–४ का स्थानीयबासी विषहरामा ‘स्वस्थ–सुन्दर विषहरा टोल’ नारासहित पोखरी संरक्षणलाई समुदाय स्तरको अभियानका रूपमा अघि बढाइरहेका छन् ।
पोखरी वरिपरि पल्लव पूजाका लागि चाहिने नयाँ काठ पल्लव लागाउने योजना, पर्यटकीय आम्दानीको स्रोत बनाउने दीर्घकालीन लक्ष्य र पोखरीमा खुला रूपमै हुने फोहोर व्यवस्थापन अन्त्य गर्ने सामूहिक प्रतिवद्धता व्यक्त गरियो ।
टोलबासी, प्रहरी, उपमहानगरपालिकाका कर्मचारी र विभिन्न सामाजिक समूहको संयुक्त सहभागितामा आगामी शनिबार बृहत् सरसफाइ अभियान सुरू गर्ने निर्णयसमेत गरिएको छ ।








तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

