काठमाडौँ, २२ मंसिर । सरकारले तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरेको छ ।

१५ चैत २०८१ मा तीनकुनेमा भएको विरोध प्रदर्शन कभर गर्दै गर्दा रजकको ज्यान गएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार रजकलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

मन्त्री खरेलले भने, ‘पत्रकारिताको पेशागत दायित्व निर्वाह गर्ने क्रममा चैत १५ गते तीनकुनेमा मारिएका पत्रकार सुरेश रजकलाई राज्यले शहीदका रूपमा मान्यता दिने निर्णय गरेको हो ।’

रजकको मृत्युले तत्कालीन समयमा व्यापक प्रतिक्रिया र न्यायको माग उठेको थियो । शहीद घोषणा भएपछि परिवार र पत्रकार समुदायले ढिलो भए पनि राज्यले पेशागत जोखिमलाई औपचारिक रूपमा सम्बोधन गरेको भन्दै स्वागत गरेका छन् ।